अष्ट्रेलियामा नेपालीको चर्तिकलाः जुवा, केटी, नशा र अपराध


 

काठमाण्डूको ठुलै घरानाको कान्छो छोरो अष्ट्रेलिया आएको एकदशक नाघिसक्यो । उ अझै डिप्लोमा तहको विद्यार्थी छ । उसले पढेको कलेज र गरेको कामको बेलिविस्तार लामो हुन्छ । राम्रो बोर्डिङ् पढेको उसको अग्रेजी अब्बल छ । ऊसँगै अष्ट्रेलिया आएका अधिकांसले पीआर, नागरिकता पाइसके । घर व्यापार, गतिलो जागिर, स्कूल जाने छोराछोरी भैसके, तर ति मित्रको अझै बिहे भएको छैन ।

अष्ट्रेलियमा केहि नेपाली भलाद्मीहरुको कथा पनि चाखलाग्दो हुन्छ । आएको ४ वर्षमै पीआर, ठुलो शहरमा तीन रेष्टुरेन्ट, नेपालीलाई वर्किङ भिसा दिलाएर पनि भलाद्मीले प्रशस्तै कमाए । ठाँटको जिन्दगी । दुईचार व्यापारमा उनले शेयर पनि किने । पाँचवर्ष अघिसम्म साथीभाईलाई पाँच-दश हजार ऋण पनि दिन्थे, तर उनी अहिले नेपालीहरुसँग तर्सिन्छन् । रेष्टुरेन्ट चल्दैनन् । घर व्यवस्थित छैन ।
भलाद्मीलाई अचम्मको बानी लागेछ । घरमा श्रीमती र दुईबच्चा छन् तर उनलाई चिनियाँ, फिलिपिनो, रसियन वा कोरियन किशोरीसँग पैसा तिरेर सहवास गर्ने बानी पर्यो । उनीसँग लामो संगत गरेका एक मित्र सम्झन्छन्, घण्टाको सातसयदेखि हजार डलर तिरेर भाडाको केटीसँग सहवास गर्थे । त्यस्तो ठाउँमा जाँदा उनी साथी पनि लैजान्थे । साथीका लागि पनि पैसा तिर्थे । एकमित्र भन्छन् “बुढाले मलाई केटी छानेर सहवास गर्न पैसा दिन्थे, उनी खोपीमा छिरेपछि म त्यहि पैसाले टन्न खाजा खाएर सपिङ गर्थेँ, घर फर्कँदा कति रमाइलो भयो है आज त भनेर उनैलाई उक्साउँथेँ” ।
नेपालीका अरु चर्तिकला पनि छन् । २०१७ को अक्टोबरमा २४ वर्षीय एक नेपाली विद्यार्थी सिड्नीमा पक्राउ परे । आफुले काम गर्ने सपिङ सेन्टरको ट्वाईलेटमा क्यामरा राखेर केटीहरुको गुप्ताङ्ग हेर्ने गरेको उनको कसुर थियो । उनी आफैँले मैले क्षमायोग्य गल्ती गरेको छैन भनेर स्विकारे पनि । ६ महिना जेलसँगै उनको भिसा रद्ध भयो । मन परेकी केटी आफुले बोलाएको ठाउँमा नआएपछि आक्रमणको धंम्की दिने अर्का २० वर्षीय नेपाली विद्यार्थी डेढवर्ष अघि पक्राउ परे । अदालतले आचरण सुधार गर्नुपर्ने नसिहत दिएर उनलाई धरौटीमा छोडेको छ ।
वर्षौँ काम गरेर मान्छे सप्रिन्छ तर विग्रिन एकैछिन काफी छ । घरदेखि डाढाको स्वच्छन्द जिन्दगी, साथीको संगत र आफ्नो तलतल । अल्लरे नेपाली युवा चाँडै धनि हुने मोहमा चिठ्ठा वा जुवा खेलेर हजारौं डलरको सपना देख्छन् । अनि थेग्नै नसक्ने गरी जुवा, सुन्दरी, सुरा वा अपराधको संगतमा पुग्छन् पनि ।

जुवाको पासो

अष्ट्रेलियामा जुवाको पासो व्यापक छ । राजमार्गका खाजा खाने पसलदेखि शहरका चोक चौबाटोमा खेल्ने खेलाउने मेसिन छ । हरेक शहरमा आधुनिक जुवाघर छन् । मेसिनमा पैसा छिराएर खेल्ने पोकर, गोट्टी घुमाएर खेलिने, पत्ति फिटेर खेलिने, अनलाईन र अफलाइन जुवा नीकै चल्छ । क्रिकेट, फुटवल, गाडी, घोडा दौडका ठुला प्रतियोगितामा अनलाईनबाटै बाजी थाप्न, जित्न, हार्न पाईन्छ यहाँ ।
अष्ट्रेलिया आउने व्यक्ति आफुभन्दा सिनियर साथीसँग जुवाघर पुग्छ । दुई पाँचसयको गोट्टी किनेर एकदुई सय जित्छ पनि । धेरै पैसा जित्ने आकाँक्षाले जितेको पनि हार्छ । अनि सँगै जुवाघर गएका चिनियाँले हजारौँ डलर जितेको मनगढन्ते कहानी फलाक्दै घर फर्किन्छ । दुख गरेर कमाएको पैसा हारेपछि हुने आत्मग्लानी छल्न दुईचार कहानी बनाउँछ र चित्त बुझाउँछ ।

धेरै पैसा जित्ने आकाँक्षाले जितेको पनि हार्छ । अनि सँगै जुवाघर गएका चिनियाँले हजारौँ डलर जितेको मनगढन्ते कहानी फलाक्दै घर फर्किन्छ ।

-Australia Katha
एक मित्रको उपदेश छ, क्यासिनोमा सय डलर लिएर खेल्न बसेको मान्छेले दुईसय डलर जितेपछि पनि अरु जित्छु भनेर खेल्यो भने हार्ने पक्का छ । उनी जुनियरहरुलाई उक्साउँछन् “जितेको बेला त उठिहाल्नुपर्छ, अनि पो जितिन्छ त” । अझ अर्का मित्र भन्दैथिए “मेलबर्न कपमा मैले भनेको घोडामा बाजी थापेको भए हजार डलर जित्ने पक्का थियो” । यहाँ ठुला अफिसका हाकिमले नै मेलबर्न कपको घोडादौडमा बाजी थाप्न आफ्ना कर्मचारीलाई उक्साउँछन् ।

सहवासको तलतल

अष्ट्रेलियामा पैसा तिरेर सहवास गर्ने ठाउँ शहरैपिच्छे भेटिन्छ । “त्यो चाँहि जान्छ म चाँहि जान्न” अधिकांस नेपाली मित्रले सुनाउँछन् । केहि मित्रहरु सहवास सेन्टरमा स्वास्थ्य सुरक्षामा खुब चासो दिइन्छ भनेर बडो गर्वका साथ दावी गर्दैथिए । सुन्दा लाग्थ्यो कि ति मित्रहरु नियमित सहवास सेन्टर जानेगर्छन् । मेलबर्नमा नेपालको धनी परिवारका एक मित्र भेटिए जसले नेपालबाट कलेजको फिस तिर्न मगाएको पैसाले सहवास गरेको पनि सुनाउन भ्याए ।
“यहाँ एसियन अफ्रिकन मूलको साझेदारसँग सहवास गर्न पाइन्छ” विज्ञापन गरेरै महिला पुरुष दुवैका लागि सेवा दिने सहवास केन्द्र चल्तिमा छन् । अझ अष्ट्रेलिया आएका नेपाली किशोरीले पढाई खर्च जुटाउँन भाडाको सहवासका लागि देशाटन भ्रमण गर्नथालेको खबर यसअघि नै सार्वजनिक भैसकेको छ । त्यस्ता युवतीहरु दुईचार दिन भाडाको सहवासका लागि घरमै गैदिन्छन् पनि, अष्ट्रेलियामा भेटिने मित्रहरु नेपाली किशोरीको यो भित्री पेशाको पाटोलाई स्विकार्छन् ।

सुराको नशा

अष्ट्रेलियामा नशालु पदार्थ नीकै महँगो छ, खिल्ली चुरोटको डलर भन्दा बढि । नेपालमा बट्टाको अढाईसय रुपैयाँ पर्ने चुरोट यहाँ दुईहजार रुपैयाँ बराबर पर्छ । मान्छेहरु के कम, आफैँले बनाएर चुरोट तान्छन् । मुख्य सहरको फुटपाथमै फिल्टर, कागज र सुर्ति आफैँले बेरेर चुरोट तानीरहेका मान्छे सराबरी भेटिन्छन् । जाँड रक्सी पनि नेपाल भन्दा तीन गुना बढि महँगो पर्छ ।
गाँजा, चरेसलगायत नशालु पदार्थको व्यापार गैरकानुनी हो, तर युवाको यस्तो जालो छ, जसले २० डलरमा गाँजाको पोको बेच्छ । बा, आमा र श्रीमती साथै रहेका एक मित्र भेटिए जो लगभग एकदिनको फरकमा बीस डलरको गाँजा किन्छन् । उनले फुर्ति लगाए “हेर्नोस् अष्ट्रेलियामा दुख भुलाउने खत्रा जडीबुटी यहि हो” । उनले थपे “के नाई भनेको, क्यानाडाले त गाँजालाई जडिबुटी भनेर खुल्ला गरिसक्यो” गाँजा तान्नु राम्रो हो भनेर फुर्ति लगाउन उनले गाँजाबारेका विश्वसमाचार कण्ठै पारेका रछन् ।
तर, अष्ट्रेलियामा सवै नेपाली जुवा, सहवास वा नशामा बरालिएका छन् भन्न खोजेको पक्कै होइन । उच्चतम प्रगती गरेका नेपालीको सख्या धेरै छ यहाँ । अपारको व्यापार व्यवसाय गरेर भारतीय, चिनियाँ, अजीहरु भन्दा ठाँटको जिन्दगी बाँचेका नेपाली प्रशस्तै छन् । नेपालीले आईटी, इन्जिनियरिङ, रियलस्टेट, टुरिजम लगायतमा नीकै राम्रो काम गरेका छन् । तर उदेक लाग्दो कुरा, क्यासिनो गएर जुवा खेल्ने, बाजीमा हार्ने, लतमा लागेर पढाई विगार्ने र स्थायी वासको व्यवस्था गर्न नसक्ने नेपालीसँग पनि बेलाबेला कुम जुधीरहन्छ ।

सुझाव

छोराछोरीलाई अष्ट्रेलिया पढ्न पठाउँदा जोडी बाँधेर पठाउनु तुलनात्मक रुपमा राम्रो । काम गरेर कलेजको पैसा तिर्न सजिलो । एकले अर्कोलाई बिग्रिन वा बरालिन रोक्ने सम्भावना धेरै । घरदेखि टाढा रहेको बेला आफन्तको यादमा एक अर्कोलाई अंगालो हालेर रुन वा हाँस्न पनि सजिलो । हिजोआज यसमा पनि विकिृति थपिएको छ ।
कसिलो समाजबाट बिहे गरेर आएका नेपाली जोडीले सम्बन्ध बिच्छेदको शिलशिला बढाइरहेका छन् । हुँदाहुँदा, यहाँको सरकारी कार्यालयमा आफु बिबाहित हुँ मात्रै भनेर पुग्दैन । दुईजना सँगै बसिन्छ कि बसिँदैन? भन्ने प्रश्न तत्कालै आउँछ । भिसा दिने अधिकृतले घरझगडा पर्न थालेको त छैन नि ? तिमीहरु अझै कम्तिमा दुईवर्ष सँगै बस्न त सक्छौ? भनेर प्रश्न गर्न थालेका छन् ।

– अजी अधिकारी [email protected]







सम्बन्धित समाचारहरू

मेलबर्नको ला ट्रोव युनिभर्सिटीमा नेपाली नयाँ वर्ष र बुद्ध जयन्ती यसरी मनाइयो !
पेरुका पूर्व राष्ट्रपतिको आत्महत्या प्रकरण, ३ करोड डलर घुसको आरोप लागेको थियो
‘आईलभ यू भन्न मन लाग्यो’ गीतका लेखक दिनेश थपलिया बने प्रमुख निर्वाचन आयुक्त
वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर निवासमा राखिने
सर्वोच्चको निर्णय पश्चात एक साताभित्रै करिब चालिस अर्ब कर तिर्न एनसेललाई ताकेता
जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कामको लागि सर्वोच्चको ग्रिन सिग्नल
राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको पहिलो स्वर्ण, अष्ट्रेलियन नेपाली बज्राचार्यले दिलाए उपाधि
गरिबको विद्यालय समता स्कूलले कसरी राख्यो वल्र्ड रेकर्ड !
error: Content is protected !!