चिनीया कम्पनीमाथि सुरक्षा निगरानी बढाउन जर्मन चान्सलरको आग्रह


जर्मन चान्लसर एन्जेला मर्केलले व्यक्तिका गोपनीय एवं निजी विवरणहरु चिनीया कम्पनीमार्फत चीन सरकारलाई उपलब्ध हुन नदिनेतर्फ विशेष निगरानी अपनाउनुपर्ने बताउनुभएको छ ।

चिनीया विशाल प्रविधि कम्पनी हुवावेले बनाएका उपकरणबाट सुरक्षा चुनौती बढेको भन्दै अमेरिका समेतका पश्चिमा मुलुकबाट चौतर्फी आलोचना भइरहेको समयमा मर्केलको उक्त भनाइ आएको हो ।

टोकियोको कायो विश्वविद्यालयमा मङ्गलबार आयोजित समारोहमा सम्बोधन गर्दै चान्सलर मर्केलले हुवावेका उपकरण प्रयोग गर्ने बारेमा जर्मनीमा ठूलो बहस चलिरहेको बताउनुभयो । उहाँले पाँचौं पुस्ताको दूरसञ्चार सञ्जाल (५जी) निर्माण गरिरहेको हुवावेको सेवाका विषयमा चलिरहेको विश्वव्यापी बहसले सर्वत्र शङ्का उब्जाएको पनि बताउनुभयो ।

जर्मनीले अझै पनि विवेकी अवधारणा अबलम्बन गरिरहेको छ । जर्मनीको सूचना प्रविधि निगरानी निकायले हुवावेले बेइजिङका लागि जासुसी गर्न आफ्ना उपकरण प्रयोग गरेको भन्ने ठोस प्रमाण नपाइएको जनाएको छ ।

तर मर्केलले हुवावेमा सङ्ग्रह हुन सक्ने विवरणहरु चीन सरकारलाई उपलब्ध नगराएको सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले कम्पनीका विवरणहरु सरकारी निकायले प्राप्त नगरेको निश्चित गर्न उपयुक्त विधिहरु निर्माण गर्न आवश्यक छ भन्नुभयो ।

हुवावे अहिले दूरसञ्चार उपकरण र मोबाइल नेटवर्क निर्माणमा विश्वकै ठूलो दूरसञ्चार कम्पनी भइसकेको छ । खासगरी हुवावेका उपकरणहरु विकासशील मुलुकहरुमा बढी बिक्री भएका छन् । कम्पनीले सस्तोमा दूरसञ्चार नेटवर्कका सामग्री उपलब्ध गराउने भएकाले पनि विकासशील मुलुकमा हुवावेको बजार तीव्र रुपमा विस्तार भएको हो ।

तर पश्चिमा धेरै मुलुकहरु सुरक्षा खतरालाई लिएर हुवावेका विरुद्धमा उभिएका छन् । खासगरी, चीनको कानुनमा रहेको मुलुकभित्रका सबै कम्पनीले गुप्तचर निकायलाई सहयोग गर्नुपर्ने अनिवार्य प्रावधानका कारण पश्चिमा मुलुकहरु हुवावेको सेवाप्रति सशंकित भएका हुन् । 

हुवावेले आफ्ना उपकरण जासुसी कार्यहरुमा प्रयोग गर्न नसकिने भन्दै पश्चिमा मुलुकको दाबीलाई अस्वीकार गरिरहेको छ ।

जर्मन चान्सलर मर्केलले भन्नुभयो, “यो विषयमा निरन्तर बहस हुनु जरुरी छ र यस सम्बन्धमा संयुक्तराज्य अमेरिकासँग पनि छलफल आवश्यक छ ।”

उहाँले बढ्दो आर्थिक समृद्धिको अर्थ चीनले शान्तिपूर्ण विश्व निर्माणका लागि आफ्नो काँधमा बढी दायित्व छ भन्ने पनि बुझ्नु आवश्यक छ भन्नुभयो ।

जर्मन चान्सलर मर्केल हाल जापानको दुई दिने भ्रमणमा हुनुुहुन्छ । उहाँले यसअघि नै जापानका प्रधानमन्त्री शिन्जो आबे र जापानी सम्राट अकिहितोसँग भेटवार्ता गरिसक्नुभएको छ । उहाँले मङ्गलबार नै जापानी र जर्मन व्यापारिक समुदायसँग छलफल गर्नुहुने छ ।







सम्बन्धित समाचारहरू

पेरुका पूर्व राष्ट्रपतिको आत्महत्या प्रकरण, ३ करोड डलर घुसको आरोप लागेको थियो
टिकटक बनाउँदा बनाउँदै गयो ज्यान भारतको दिल्लीमा यो अनौठो घटना !
सही मनोबृत्ति लिएमा अमेरिकासँग जतिनै चरणको वार्ता गर्न पनि तयार रहेको उनको भनाई
ब्ल्याक होलको पहिलो तस्वीर सार्वजनिक
भारतमा आजबाट चुनाव, ९० करोड मतदाताले दिँदैछन् आफ्नो फैसला
ईरानको सेनालाई आतंककारी संगठन घोषित गर्ने अमेरिकी निर्णय
बोइङले अनुसन्धान पूरा नभएसम्म ७३७ म्याक्सको उत्पादन घटाउने
कानून उल्लङ्घन गरेको भन्दै कङ्ग्रेससम्वद्ध ६८७ फेसबुक पेज हटाइयो
error: Content is protected !!