– रमन अधिकारी
अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको सबैभन्दा आकर्षक गन्तव्य हो । यहाँको शैक्षिक वातावरण र अवसरले धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई यहाँ लोभ्याएको छ । यसरी आएकामध्ये नेपालीहरु जसले यहीँ बस्ने निधो गरे उनीहरुका सन्तानले यहीँ शिक्षादिक्षा पनि लिन थाले । यही क्रममा यहाँ हुर्कदो गरेको दोश्रो पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले आउँदो फेब्रुअरी १० का दिन एडिलेडको द गोर्खाज रेष्टुरेन्ट ७३ एंगस स्ट्रीटमा कक्षा १२ ग्राजुएट एक्नोलेजमेन्ट डिनर कार्यक्रम गरिने भएको छ । स्मरणीय के छ भने यसरी सम्मानित हुनेमा यही पाठशाला पढेका पुर्वबिद्यार्थीहरु पनि रहेका छन् ।
विद्यार्थीको उज्जवल भविष्यको कामना गर्नु र नयॉ पुस्तालाई नेपाल र नेपाली बिच जोड्नु कार्यक्रमको मुल उद्देश्य रहेको यस कार्यक्रमका संयोजक एवं पाठशालाका अध्यक्ष कपिल पाण्डेले एमएनटीभी अष्ट्रेलियालाई बताए । नेपाली पाठशाला एडिलेडले विभिन्न किसीमका नवीनतम कामहरु गरेर आफुलाई समाजमा बलियो रुपले स्थापित गर्दै आएको छ। २००८ बाट नै नेपाली बाल बालिकाहरुलाई नेपाली भाषा बोल्न र लेख्न सिकाउनुको साथै विभिन्न नेपाली समुदायले गर्ने कार्यक्रममा सरिक गराई नेपाल र नेपालीका मौलिक रितिरिवाज र पंरम्परालाई विदेशी भुमी पनि जोगाई राख्ने अभियान अघि बढाएको छ । यति मात्र नभएर उनीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि नेपाली समुदायका क्लवहरु एन्का र एकेफसीसंग समन्वय गरि क्रिकेट र फुटबल पनि सञ्चालन गरेको छ ।
हामीसंगको लामो संबादमा नेपाली पाठशाला अन्तर्गतको एउटा कार्यक्रम ज्ञानगुन चौतारीका समेत संयोजक रहेका कपिल पाण्डेले एडिलेडमा बिभिन्न क्षेत्रमा रहेर उदाहरणीय काम गर्नु हुने महानुभावहरुलाई बोलाएर नेपाली समुदायलाई त्यस बिषयमा जानकारी गराउने, सुचना प्रवाह गर्ने, ज्ञान र सीपको बारेमा बताउने, उत्प्रेरणा जगाउने काम गर्ने साथै त्यस बिचमा उपस्थित महानुभावहरु संग अन्तरक्रिया गरिएको जानकारी दिए । साथै नेपालबाट आउनु हुने बुवा आमा वा अन्य महानुभवहरुमा त्यस्तो सरकारी, प्राइवेट वा अन्य सामाजिक संघ संस्था भएको अनुभव पाइएमा उहॉहरुलाई खोजि खोजि उहॉहरुका अनुभवलाई साटासाट गर्ने माध्यम पनि बनेको बताए ।