अष्ट्रेलियामा जारी विगबास लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई आफ्नै घरेलु मैदानमा विशाल अन्तरले पराजित गर्दै मेलबर्न स्टार्स सेमिफाईनलमा प्रवेश गरेको छ । नेपाली लेग स्पीनर सन्दिप लामिछानेको ३ विकेटको साथ ९४ अन्तरले सिक्सर्सलाई पराजित गर्दै स्टारले आफ्नो अघिल्लो खेल सुरक्षित बनाएको हो ।
सुरुमा व्याटिंग गरेको मेलबर्न स्टारले १ सय ६९ रनको लक्ष्य दिएको थियो । २० ओभरमा ६ विकेटको क्षतिमा स्टारले १ सय ६८ रन बनाएको थियो । स्टारका लागि क्याप्टेन ग्लेन म्याकवेलले ४३ बलमा ८२ रन बनाउन सफल भए । त्यस्तै पेटर ह्यान्डस्कम ३५ रन, मार्कस स्टोनिस ३४ रन जुटाउन सफल भए । सन्दिपले यसअघि ब्रिसबेनमा भएको खेलमा कुनै विकेट लिन नसकेपनि मेलबर्न भने उनका लागि फापेको छ । मेलबर्नमा नेपाली समूदायका सदस्यहरु ठूलो संख्यामा मेलबर्न क्रिकेट ग्राउन्डमा उपस्थित भएका थिए ।
एउटा मेलाको जस्तो वातावरण स्टेडियममा बनेको एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं भिक्टोरिया संयोजक केशव कँडेलले बताए । बाजागाजासहित उपस्थित भएका दर्शकहरुले सन्दिपका लागि हुटिंग गरिरहँदा उनी आफ्नो नवौं, दशौं र एघारौं विकेट जोडिरहेका थिए । अन्तिम विकेट लिने क्रममा सन्दिपको बलिंग हेर्न लायक थियो । मेलबर्न स्टारले लिगको शीर्ष स्थानमा रहेको होबार्ट हुरिकेनसँग आगामी फेब्रुअरी १४ का दिन खेल्नेछ । अर्को सेमिफाईनलको खेल १५ फेब्रुअरीमा हुनेछ ।