एनआरएन अष्ट्रेलियाको चुनाव २०१९ र चुनौती !


– चिरञ्जीवी देवकोटा/Melbourne

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको २०१७/१९ को कार्यकालका पदाधिकारीहरुको समयावधि अव लगभग सकिएको छ । नयाँ सदस्यता आवेदन खुल्ला भइसकेको अवस्थामा र चुनावको मिति घोषणाको अन्तिम तयारी भइरहँदा अहिलेको कार्यसमितिले गर्ने भनेको दैनिक कामहरुको निरन्तरता अथवा भनौं आइपर्ने विभिन्न समस्याको समाधान बाहेक केही बाँकी रहने छैन । अर्कोतर्फ, चुनावको कमाण्डको चयन पनि अन्तिम चरणमा पुगिसकेको छ । कमाण्डर अर्थात प्रमुख निर्वाचन अधिकृत ।

अष्ट्रेलियामा एनआरएनहरुको चुनावी रौनक सार्वजनिक रुपमा नदेखिएपनि भित्री रुपमा सुरु भइसकेको छ । कोठे बैठकहरु, ओठे गठजोडहरु अनि दावी र अनुमानको खेल सुरु भएको केही साता भयो । यस पटक एनआरएन अष्ट्रेलियाको निर्वाचनमा स्पष्टत दुईवटा प्यानल देखिनेछन् । किनकि, यसअघिको एमाले र माओवादी समर्थित प्रवासी संगठन लगभग एक भइसकेको छ । उनीहरुले एकसाथ चुनावमा जाने तयारी गरिसकेका छन् । चुनावमा नेपाली काँग्रेस समर्थित नेपाली जनसम्पर्क समितिको प्रतिस्पर्धी प्यानल हुनेछ । अहिलेलाई कम्तिमा यति विश्वास गरौं कि तेश्रो प्यानलको सम्भावना छैन । तर, राजनीतिमा सम्भावनाकै खेल भनिन्छ । यससँगै यो वर्षको एनआरएन निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरुको बाढी पनि आउनसक्छ यदि उम्मेद्वारी दिनका लागि तोकिने शुल्क कम भएको अवस्थामा । होइन भने, रहरकै लागि सैयौं डलर डुबाउने र च्याँखे थाप्ने मनस्थितिमा भने उनीहरु नहुन सक्छन् ।

यसअघिका सबैजसो निर्वाचनमा गठबन्धन निर्माण, अर्को पक्षलाई फुटाउ र आफु जीत भन्ने नीति नै चलिआयो । तर, यस पटक त्यस्तो हुने छैन । किनकि, गठबन्धन निर्माणका लागि धेरै विकल्पहरु रहने छैनन् । आफ्नै संगठनभित्रकै संघर्ष नै यतिबेलाको महत्वपूर्ण विषय बन्न पुगेको छ ।

अब केहीबेर चर्चा गरौं यो निर्वाचनमा एनआरएनले झेल्ने चुनौतीको । एनआरएन अष्ट्रेलिया यतिबेला दोहोरो मारमा छ । एकातिर आर्थिक संकटको अवस्था अनि अर्कोतर्फ चुनावी घोषणापत्रको ठेलीको चाङ । गत चुनावमा व्यक्त गरेको प्रतिबद्धताको लिष्ट मात्रै अघि सार्ने हो भने पनि त्यसमा मुश्किलले ३० देखि ३५ प्रतिशत काम भएको होला । नारा ठूला थिए । मन लोभ्याउने योजना बताइएको थियो । तर, ति सबै या त कफी गफ या त घोषणापत्रका रंगीन पानामा मात्रै सीमित भए । सुरुवातमा कसैको चुनावी रणनीतिको हिस्सा बन्दै एनआरएन अष्ट्रेलियाले आईसीसीमा पठाएको भवन लेबी, लाप्राक निर्माणको हिस्साको बोझले नै यो कार्यसमिति अहिलेसम्म पनि थिलथिलो नै छ । आर्थिक रुपमा जर्जर अवस्थाबाट त्राण पाउन यसले प्रयत्न गरेपनि त्यसमा सफल हुन नसकेपछि मरिच चाउरिएझैं चुपचाप सामान्य केही कार्यक्रमको निरन्तरता बाहेक अन्य हुन सकेन । यो सुस्ततालाई चिर्ने स्पष्ट भिजन र आधार दिनु अब आउने नेतृत्वको पहिलो चुनौती हुनेछ ।

भर्खरै एआईबिटी नामक कलेजमा समस्या आयो । नर्सिङ पढ्नका लागि आएका नेपाली विद्यार्थीले समस्या झेले । उनीहरुको विषय अष्ट्रेलियाको मात्र होइन नेपालको राजनीतिको पनि केन्द्रभागमा पुग्यो । सरकारले चासो देखायो, नेपालमा रहेको अष्ट्रेलियन दूतावासले बोल्नुपर्ने अवस्था आयो । अवस्था यतिसम्म आयो कि कतै नेपालमा यही विषयलाई लिएर कन्सल्टेन्सीहरुविरुद्ध दंगा त हुने होइन भन्नेसम्मको आशंका व्याप्त भयो । एनआरएनले एउटा स्पष्ट अडानका साथ आफ्नो पोजिसन देखायो । तर, केही कुखुरे मुटु भएकाहरुले यो अडानलाई पानीमा मिलाइदिए । अहिले एनआरएन अष्ट्रेलियाले त्यतिेबला एआईबिटी प्रकरणमा उसको फेसबुक पेजमा प्रकाशित गरेको प्रेस विज्ञप्ति समेत भेट्न मुश्किल छ । 

विद्यार्थीको समस्या हेर्छु पनि भन्ने अनि उनीहरुलाई दिग्भ्रमित मात्रै राखिराख्ने परिपाटीले उनीहरुको आकर्षण बढाउन सक्ने छैन । अहिलेको यथार्थलाई हेर्ने हो भने एनआरएन अभियानमा मुश्किलले केही दर्जन विद्यार्थीले मात्रै एशोसिएट मेम्बरशिप लिएका होलान् । कसैको कृपामा मनोनित भएर केही काम गरेजस्तो गर्ने विद्यार्थीको संख्या गन्दा पनि यो दर्जनको हाराहारीभन्दा बढी नपुग्ने निश्चित छ । यस्तो अवस्थामा विद्यार्थीको विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयको परिभाषा गर्नु अर्को चुनौती रहनेछ एनआरएन नेतृत्वको लागि ।

-Chiranjebi Raj Devkota

यो प्रकरणमा एनआरएनका धेरैजसो अभियन्ताहरुलाई विद्यार्थी ठगेको, उनीहरुलाई गुमराहमा राखेको, विद्यार्थीका पक्षमा स्पष्ट अडान लिन नसकेको लगायतका आरोप लाग्न पुगे । यी आरोपको खण्डन गर्नु त परै जाओस् विद्यार्थीसँग हामी उभिएका छौं है भनेर समेत भन्न नसक्ने अवस्थामा यो पुग्यो । विद्यार्थीका समस्या समाधान गर्नका लागि युथ कोअर्डिनेटरहरु चुनेर पठाएका मतदाताले यस प्रकरणमा युथ कोअर्डिनेटर कता छ देख्न सुन्न समेन पाएनन् । बरु, युवाहरुका अन्य समूहको सक्रियताले विद्यार्थीलाई राहत दिन सफल भयो । यति लामो लिगेसी बोकेका एनआरएनका युवाहरु कुन कुनामा हराए पत्तो भएन तर केही समय अघि नै सुरुवात गरिएको भीएफएमको सक्रियताले विद्यार्थीहरुलाई थोरै भएपनि राहत दियो । विद्यार्थीका लागि एनआरएनले केही गर्दैन, यो धनीहरुको संस्था हो, यो व्यापारीहरुको संगठन हो भन्ने आरोपलाई चिर्नु अर्को चुनौती हुनेछ यस पटकको नयाँ नेतृत्वका लागि ।

आधा आकाश भनिएको नारी शक्तिको उपेक्षा एनआरएनको पर्याय जस्तै बनेको छ । नारी निकुञ्ज भन्ने संस्था त खोलिएको छ । तर, यस बाहेक कार्यसमितिमा नारीहरुको उपस्थिति न्यून छ । कार्यक्रमहरुमा हेर्दा पनि उनीहरुको सहभागिता देखिँदैन । अष्ट्रेलियामा आउने के नारी के पुरुष सबै उत्तिकै सक्षम छन् । अझ धेरैजसो केशमा त नारीहरु पढ्न आएका छन् पुरुषहरु डिपेन्डेन्टमा । यसैले नारीहरुको सशक्तिकरण, उनीहरुको सहभागिता अभिबृद्धि र उनीहरुका एजेन्डाहरुलाई एनआरएनले आफ्ना एजेन्डा बनाउने चुनौती अर्को गम्भीर विषय हुनेछ अबको नेतृत्वका लागि ।

एक लाख नेपाली छन् भनेपनि १० प्रतिशत पनि सदस्यतामा समेट्न नसक्नु अर्को एनआरएन अष्ट्रेलियाको कमजोर पक्ष रहँदै आएको छ । यो सदस्यता पनि अरु कसैले ‘किनिदिएको’ आरोप लाग्ने गर्दछ । अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपालीको साझा संस्था भनेर दावी गर्ने एनआरएनले अबको निर्वाचनअघि कम्तिमा अघिल्लो पटकको ८ हजार सदस्यतालाई दोब्बर बनाउन नसक्ने हो भने यस्तो साझा संस्थाको दावी समेत धर्मराउने निश्चित छ । तर, दोब्बर हुने होइन यो संख्या घटेर आधा हुने अनुमान छ । यो अर्को चुनौती बन्नेछ यस पटकको नेतृत्वका लागि समेत ।

अष्ट्रेलिया नेपालीहरुको प्रमुख शैक्षिक गन्तव्य हो । यहाँ आउने हरेकले विद्यार्थी जीवनको अनुभव गरेकै हुन्छन् । तर, विधानले यहाँ रहने विद्यार्थीहरुलाई गैरआवासीय नेपालीको दर्जा प्रदान गर्दैन । उनीहरुलाई एशोसिएट्स मेम्बरशिप दिने प्रवाधान त बनाइएको छ तर यो प्रावधान पर्याप्त छैन । पढाई र करिअरमा ‘फोकस’ भएका नेपाली युवा विद्यार्थीहरुले एनआरएनलाई सम्झने भनेकै मर्दापर्दा हो । कुनै समस्या भएका बेला उनीहरुको मुखबाट निस्कने पहिलो बाक्य नै ‘एनआरएन खै त रु’ हुने गर्दछ । विद्यार्थीहरुमा यो आकांक्षा भर्ने काम पनि यिनै अभियन्ताहरुबाट भएको हो भन्दा अत्युक्ति हुने छैन । तर, उनीहरु स्पष्टीकरण दिन्छन्, सदस्य नै नभएका उनीहरुका लागि हामीले किन मरिहत्ते गर्नुपर्ने रु यदि यस्तै हो भने विद्यार्थीको विषयमा हामी कमै संलग्न हुन्छौं भनेर स्पष्ट भन्ने हुति राख्नु आवश्यक छ अबको नेतृत्वले । किनकि, विद्यार्थीको समस्या हेर्छु पनि भन्ने अनि उनीहरुलाई दिग्भ्रमित मात्रै राखिराख्ने परिपाटीले उनीहरुको आकर्षण बढाउन सक्ने छैन । अहिलेको यथार्थलाई हेर्ने हो भने एनआरएन अभियानमा मुश्किलले केही दर्जन विद्यार्थीले मात्रै एशोसिएट मेम्बरशिप लिएका होलान् । कसैको कृपामा मनोनित भएर केही काम गरेजस्तो गर्ने विद्यार्थीको संख्या गन्दा पनि यो दर्जनको हाराहारीभन्दा बढी नपुग्ने निश्चित छ । यस्तो अवस्थामा विद्यार्थीको विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयको परिभाषा गर्नु अर्को चुनौती रहनेछ एनआरएन नेतृत्वको लागि ।

यी चुनौतीको गणना गर्दा सामान्य लाग्न सक्छन् तर यिनै चुनौतीको पहाडमा थिचिएको छ यतिबेला एनआरएन अष्ट्रेलियाको अभियान । वास्तवमा एनआरएन अष्ट्रेलियामा भएका नेपालीहरुको लागि हो कि नेपालमा केही परोपकारी काम गर्नका लागि हो भन्ने कुरा समेत स्पष्ट पार्न नसकेको अवस्थामा कहिले यहाँका दोश्रो पुस्ताको चिन्ताले एनआरएन पदाधिकारीलाई सताउँछ भने कहिले नेपालमा केही प्रोजेक्टहरु गर्न नपाएको छटपटीले उनीहरुलाई पिरोल्छ । यहाँ आफ्नो भूमिकाप्रतिको स्पष्टता अर्को चुनौती बनेर उनीहरु सामू उभिनेछ ।

समय छ, स्वयंसेवी रुपमा प्रवासको नेपाली समूदायलाई केही गर्ने जाँगर छ, अनि दुई वर्षसम्म खटिने दृढ ईच्छाशक्ति छ भने एनआरएनको कुनैपनि पद तपाईंको लागि हुनसक्छ । तर, चुनावमा सक्रिता देखाउने अनि चुनावपछि कुनै खोपामा विलाउने प्रवृत्ति हो भने, एनआरएनमा लाग्छु अनि यसले व्यवसायमा पनि सहयोग गर्छ भन्ने भ्रम छ र दाम कमाइयो अब नामका लागि एनआरएनको नेतृत्वमा जाने हो भन्ने सोच छ भने यी चुनौतीका पहाडले त्यस्ता उम्मेद्वार थिचिएर विलिन हुने पक्का छ ।







सम्बन्धित समाचारहरू

ओसेनिया क्षेत्रको संयोजक पदमा होम पाण्डे विजयी, उपसंयोजकमा कँडेल !
एनआरएन चुनाव : २३ सय ४० मत खस्यो, मतगणना गर्ने तयारी !
एनआरएनको निर्वाचन, मत बदर नहोस् भनी ध्यान दिनुपर्ने दुई कुरा !
एनआरएनको निर्वाचन स्थगित, भोलि मतदान सुचारु गर्ने निर्वाचन आयोगको स्पष्टीकरण
एनआरएनको नयाँ नेतृत्व चयन गर्न बल्ल मतदान सुरु, आजै परिणाम नआउने निश्चित !
नयाँ नेतृत्वका लागि आज हुँदैछ एनआरएनएको चुनाव, यस्तो छ कार्यतालिका !
राष्ट्रपतिले दिलाईन् अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सपथ
के भनिन् राष्ट्रपतिले एनआरएनको उद्घाटन कार्यक्रममा ?
error: Content is protected !!