नेकपाका दुई अध्यक्षबीचको असहमति हट्यो, महाधिवेशनअघि कुनै प्रतिस्पर्धा नहुने


नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले एक वर्षदेखि थाती राखेको राजनीतिक दस्तावेजमा सहमति जुटाएको छ ।
प्रधानमन्त्री निवासमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भएको छलफलबाट दस्तावेजमा सहमति जुटेको हो । अध्यक्ष प्रचण्डले राजनीतिक दस्तावेजमा सहमति भएको र सोमबार नै प्रकाशनमा समेत जाने जानकारी दिनुभएको छ ।
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको एकता महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एउटा ठूलो काम हामीले आज पूरा गरेका छौँ । एक वर्षदेखि पूर्ण रूपले सहमति भएर पनि प्रकाशनमा नआएको राजनीतिक प्रतिवेदन टुङ्ग्याएका छौँ र भोलि प्रकाशनमा जाँदै छ । ”
उहाँले भन्नुभयो, “राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, सिद्धान्त, सङ्गठनात्मक नीति र विधि कुन आधिकारिक हो, कुन नेताले के भनेको हो, कुन पार्टीको लाइन हो, कुन होइन त्यसमा ‘कन्फ्युज’ थियो । त्यो ‘कन्फ्युजन’ हटेको छ । ” उहाँले राजनीतिक दस्तावेज प्रकाशन भएर सबैको हातहातमा जाने बताउँदै सबैले अध्ययन गरेपछि आएको प्रतिक्रियाका आधारमा पुनः सच्याउन सकिने धारणा राख्नुभयो ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुन लाग्दा एकीकरणको मूल दस्तावेज राजनीतिक प्रतिवेदन तयार गर्न तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।
कार्यदलले आफ्नो प्रतिवेदन तयार गरी शीर्ष नेताहरूलाई बुझाएपछि त्यसैको आधारमा जेठ ३ गते एकता घोषणा भएको थियो । त्यति बेला पनि राजनीतिक दस्तावेजमा केही असहमति थियो तर पछि मिलाउँदै जाने भन्दै एकीकरण घोषणा भएको थियो ।
एकीकरण भएको एक वर्ष बित्दा पनि राजनीतिक प्रतिवेदन प्रकाशनमा नआउँदा पार्टी पङ्क्तिबाटै आवाज उठ्न थाल्यो । त्यसपछि पार्टीको बैठकमा प्रतिवेदनको बारेमा कार्यसूचीकै रूपमा बहस हुन थाल्यो । जेठ २० देखि २२ सम्म बसेको पार्टीको सचिवालय बैठकमा नै राजनीतिक प्रतिवेदन विषयमा टुङ्गो लगाउने प्रयास भएको थियो । तर, त्यहाँ सहमति बन्न नसकेपछि अध्यक्षद्वय ओली र प्रचण्डलाई बैठकले जिम्मेवारी सुम्पेको थियो । झन्डै एक महिनाको गृहकार्यपछि त्यसलाई उहाँहरूले टुङ्ग्याउनुभएको हो ।
अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन टुङ्गो लगाएर धेरै ठूलो काम भएको बताउँदै आउने महाधिवेशन पार्टीको एकता महाधिवेशन हुने बताउनुभयो । महाधिवेशनबाट हुने नेतृत्व चयनलगायतका अन्य गतिविधि सबै सहमतिमा हुने प्रस्ट पार्दै उहाँले महाधिवेशनपछि जरुरी पर्दा पार्टीभित्र प्रतिस्पर्धा हुनसक्छ तर महाधिवेशनअघि कुनै प्रतिस्पर्धा नहुने स्पष्ट पार्नुभयो । उहाँले पार्टी एकीकरण हुँदा नै यस्तो सहमति भएकोसमेत स्मरण गराउनुभयो ।
उहाँले पार्टीको एकता अझै पूर्ण नभएको, अझै सङ्क्रमणकालीन अवस्थामा रहेको चर्चा गर्दै कर्मचारीको यो एकता महाधिवेशनले एकीकरण टुङ्ग्याउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।







सम्बन्धित समाचारहरू

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान, बैठक साँझ ५ बजे बालुवाटारमा
विदेशमा रहेका नेपालीलाई सरकारले उद्धार गर्ने
आज साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली
भारतले गरेको सीमा अतिक्रमणको विरोध गर्दै बेलायतका प्रवासी संगठनहरु एक ठाउँमा
कोरोनाको कहरमा परेका नेपालीलाई विदेशबाट फर्काउने तयारी, प्रथमिकता निर्धारण हुँदै
‘न्यूनतम आर्थिक क्रियाकलाप सुचारु राखेनौँ भने रोगबाट बचिएला तर भोकबाट अघि बढ्न सकिन्न’ : अर्थमन्त्री
कोभीड १९ ले पारेको असर समाप्त गर्ने खालको बजेट आउने अर्थमन्त्रीको दाबी
संसदमा विपक्षीले मागे प्रधानमन्त्रीको राजीनामा, देउवादेखि महतोसम्मको कडा प्रहार
error: Content is protected !!