सेनाले बनायो पाँच महिनामै ८ सय ६९ घर, बारा र पर्साका हुन्डरीपीडित जनतालाई हस्तान्तरण


बारा र पर्सामा विनाशकारी हावाहुरी तथा असिनापानीबाट आवासविहीन बनेका पीडित परिवारले पाँच महिनामै सरकारनिर्मित आवास पाएका छन् । प्राकृतिक प्रकोपबाट पीडितले यति छोटो अवधिमा सरकारनिर्मित आवास पाएको यो पहिलो अवसर हो । गएको चैत १७ मा त्यहाँ विनाशकारी हावाहुरी चलेको थियो । 
नेपाली सेनाले निर्माण गरेका आवास बुधबार केन्द्र सरकारलाई हस्तान्तरण गरेपछि केन्द्र सरकारले प्रदेश सरकार र प्रदेश सरकारले स्थानीय तहमार्फत पीडित परिवारलाई हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । नेपाली सेनाको जनता आवास निर्माण कार्यदलद्वारा बुधबार वीरगञ्जमा आयोजित घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री ईश्वर पोखरेलले स्थानीय, प्रदेश र सङ्घीय सरकारको आपसी समन्वय र नेपाली सेनाको कार्यदक्षताका कारण बारा र पर्साका हावाहुरी पीडितले घर पाएको बताउनुभयो ।
हावाहुरी पीडितको घर निर्माणका क्रममा केही कमीकमजोरी भएको र केही छुट्न गएको लगायतका गुनासा सुन्नमा आएको बताउँदै रक्षामन्त्री पोखरेलले भन्नुभयो, “यो काम सम्पन्न गर्ने सिलसिलामा छुट्न गएका पीडितहरूका लागि के गर्नुपर्ने हो, त्यसका लागि औपचारिक निर्णय गर्छौं, यो वचन म तपाईंहरूसमक्ष राख्न चाहन्छु ।”
त्यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रशासनिक कमीकमजोरीका कारण बारामा केही पीडित घर निर्माणबाट वञ्चित हुनुपरेको प्रसङ्ग उठाउनुभएको थियो । नेपाली सेनाले राष्ट्रिय स्वाधीनता र क्षेत्रीय अखण्डताको रक्षा मात्र नभई विकासनिर्माण र राज्यलाई विपत् परेको बेला सदैव जनता र देशका लागि योगदान पु¥याउँदै आएको बताउनुहँुंदै रक्षामन्त्री पोखरेलले नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले तोकिएको समयभित्रै घर निर्माण गरी हस्तान्तरण गरेकोमा सेनालाई धन्यवाद दिनुभयो ।
उहाँले सरकार मात्र होइन, प्रणाली नै परिवर्तन गरी तीन तहको सरकार बनेको अवस्थामा तीन तहकै सरकारबीच आपसी समन्वय कसरी गर्नुपर्छ भन्ने उदाहरण बारा र पर्साको हावाहुरी पीडितहरूको घर निर्माणले देखाएको बताउँदै देश र जनतालाई शिरमा राखेर काम गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
मन्त्री पोखरेलले वर्तमान सरकार गठनपछि जनताले राखेका अपेक्षा पूरा नभएको गुनासो आउनु स्वाभाविक भएको बताउँदै अब जनतालाई दिइएको वाचा र प्रतिबद्धताअनुरूप काम गरेर देखाउने बेला आएको कुरामा जोड दिनुभयो । उहाँले मुलुकको स्थायित्व र विकासका लागि नभइनहुने कानुन निर्माण गर्ने प्रक्रिया लगभग सम्पन्न भएको र अब पनि जनताका आकाङ्क्षा पूरा नभए जनताले गर्ने फैसला स्वीकार गर्न तयार हुनुपर्ने कुरामा जोड दिनुभयो ।
यस्तै सिङ्गापुरमा उपचार गराइरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले घर हस्तान्तरण कार्यक्रममा सहभागी हुन नसकेको भन्दै हावाहुरीपीडित बारा र पर्साको जनतासँग पछि भेट्ने सन्देश दिनुभएको जानकारी कार्यक्रममा गराइएको थियो । छोटो समयमा नेपाली सेनाले गरेको कार्यलाई प्रधानमन्त्रीले बधाई दिनुका साथै पीडित जनता र सेनालाई धन्यवाद ज्ञापन गर्नुभएको सन्देश पनि रक्षामन्त्री पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री ओलीको विशेष पहलमा नेपाली सेनाले छोटो अवधिमा जनआकाङ्क्षाअनुरूप घर निर्माण सम्पन्न गरेको भन्दै नेपाली सेनालाई धन्यवाद दिनुभयो । उहाँले सेनाको कार्यकुशलताले हावाहुरी पीडितको केही घर निर्माण छोटो समयमा, मितव्ययी, गुणस्तरीय आवास निर्माण भएको बताउनुभयो । उहाँले केही पीडितको आवास छुट्न गएको बताउँदै छुटेका घरहरू सङ्घीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा निर्माण गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले गएको चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरीले पु¥याएको क्षति र स्थानीयले कठिन परिस्थितिको सामना गरिरहेको अवस्थाबाट मुक्ति दिन सरकारको निर्देशनअनुरूप सेनाले घर निर्माण कार्य सम्पन्न गरेको बताउनुभयो । उहाँले बाराका ८०७ र पर्साका ६२ गरी ८६९ घरको प्रमाणपत्र तथा नक्साको कागज रक्षामन्त्री पोखरेललाई हस्तान्तरण गर्नुभयो । मन्त्री पोखरेलले प्रदेश २ का मुख्यमन्त्री राउतलाई सो प्रमाणपत्र हस्तान्तरण गर्न‘भएको थियो ।
यता मुख्यमन्त्री राउतले कार्यक्रमस्थलमै हावाहुरीबाट प्रभावित भई घर निर्माण गरिएका बाराका कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका, फेटा, सुवर्ण, प्रसौनी, परवानीपुर, देवताल गाउँपालिका तथा पर्साको वीरगञ्ज महानगरपालिका, बहुदरामाई नगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष तथा
नगर प्रमुखहरूलाई सो प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण गरिएका प्रमाणपत्र सम्बन्धित स्थानीय तहका प्रमुखहरूले आ–आफ्नो नगरपालिका तथा गाउँपालिकाको प्रभावित क्षेत्रमा पुगी विशेष कार्यक्रम आयोजना गरी हस्तान्तरण गर्ने नेपाली सेनाले जनाएको छ ।

चैत १७ गते आएको विनाशकारी हावाहुरीका कारण बारा र पर्सा जिल्लामा २९ जनाको ज्यान गएको थियो भने एक हजार दुई सयभन्दा बढी घाइते भएका थिए ।
हावाहुरीले ठूलो धनजनको क्षति पु¥याएपछि चैत २१ गतेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हावाहुरी पीडितका लागि सरकारले नै घर निर्माण गरिदिने र सोको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सो निर्णयपछि बारा र पर्सामा नेपाली सेनाले वैशाख २१ गते घर निर्माण कार्यको थालनी गरेको थियो । नेपाली सेनाले बारा र पर्सामा १२ समूह बनाएर सैनिक र गैरसैनिक गरी छ हजारभन्दा बढी जनशक्ति घर निर्माणमा लगाएको थियो ।

लागत प्रतिघर झन्डै पाँच लाख

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले हावाहुरी पीडितले घरको लागत प्रतिघर चार लाख ८५ हजार रुपियाँ रहेको प्रतिवेदन पेस गरेको छ । सरकारले प्रतिघर निर्माणका लागि पाँच लाख ४५ हजार ९८५ रुपियाँ ८८ पैसाका दरले रकम उपलब्ध गराएको थियो । कटिन्जेन्सी र निर्माण सामग्रीबाट सेनाले प्रतिघर ६१ हजार एक सय रकम बचत गर्न सफल भएको छ । सेनाको जनता आवास कार्यदलले निर्माण गरिदिएको घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा छन् ।







सम्बन्धित समाचारहरू

काठमाडौंमा हुने विश्व सम्मेलनमा जाने प्रतिनिधि छान्दै एनआरएन अष्ट्रेलिया
गर्भपतन गराउने चिकित्सकले जब २ हजारभन्दा बढी भ्रुण सुरक्षित राखे !
नेपालमा लगानीको अवसर, दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै
लगातार मौसम खराब भएपछि विश्वकै खतरनाक लुक्ला विमानस्थलमा सैयौं पर्यटकहरु रोकिए
एडिलेडमा हुन लागेको ‘जुनियर वल्र्डकप २०१९’ मा भिजिट नेपालको प्रबद्र्धन गरिने !
बाँकेको घटनाले तातेको संसद सेलाएन, काँग्रेस र नेकपाका सांसदको जुहारीले तोडियो सहमति
यस्तो भयो एडिलेडमा मनाइएको ईन्द्रजात्रा, पुलुकिसी नाच र कुमारी प्रमुख आकर्षण
ज्ञानबहादुर शाही प्रहरी नियन्त्रणमा, हवाई सुरक्षा प्रतिकूल कार्य गरेको अभियोग लगाउने तयारी
error: Content is protected !!