सर्वोच्चले एनसेललाई भन्यो, २१ अर्ब पूँजीगत लाभकर तिर्नु


विगत चार वर्षयता निकै चर्चाको विषय बनेको दूरसञ्चार कम्पनी एनसेल खरिद बिक्रीबापतको पुँजीगत लाभकर निर्धारणको विषय टुङ्गिएको छ । सर्र्वोच्च अदालतको गत भदौ ८ गतेको इजलासको बिहीबार पूर्णपाठ सार्वजनिक गर्दै लाभकर निर्धारण गरेपछि यो विषय टुङ्गिएको हो । पूर्णपाठमा एनसेलले अब लाभकरबापत २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपियाँ बुझाउनुपर्ने उल्लेख छ । यसबाहेक कानुनबमोजिमको ब्याजसमेत कम्पनीले बुझाउनुपर्ने पूर्णपाठमा समेटिएको छ । ‘यसरी आयकर ऐनको दफा ११८ र ११९ बमोजिम शुल्क र ब्याजसमेतको रकम तिरी बुझाइसकेपछि पुँजीगत लाभकरको विवादको दायित्व पूरा एवं अन्त हुन जान्छ’ पूर्णपाठमा उल्लेख छ ।
यसअघि २०७२ चैत २९ गते स्विडेनको कम्पनी टेलियासोनेराले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर तत्कालीन बजार मूल्यअनुसार एक खर्ब ४३ अर्ब ६५ करोड रुपियाँमा मलेसियन कम्पनी एजिएटालाई बिक्री गरेको थियो । उक्त कारोबारपश्चात् एनसेलको स्वामित्व बिक्रीमा पुँजीगत लाभकर राष्ट्रिय चर्चाको विषय बनेको थियो । संसद्अन्तर्गतका विभिन्न समितिमा पनि यो विषयमा दर्जनौं पटक छलफल भएको थियो ।
लामो समयदेखि टुङ्गिन नसकेको एनसेलको लाभकर विवादका विषयमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरू मीरा खड्का, विश्वम्भर श्रेष्ठ, आनन्द मोहन भट्टराई र टङ्क मोक्तानको २०७५ चैत २७ गते बसेको पूर्ण इजलासले एनसेलको लगानीकर्ता एजियटाबाट तीन महिनामा लाभकर उठाउन ठूला करदाता कार्यालयलाई आदेश दिएको थियो । सर्वोच्चको उक्त आदेशपछि कार्यालयले वैशाख ३ गते एनसेललाई ६० अर्ब ७१ करोड २४ लाख रुपियाँ कुल लाभकर निर्धारण गरी बाँकी रहेको ३९ अर्ब छ करोड छ लाख ८४ हजार ८१५ रुपियाँ लाभकर भुक्तान गर्न सात दिनको समय दिएको थियो । कार्यालयको उक्त निर्देशनपछि १४ अर्ब रुपियाँमात्र कर निर्धारण हुनुपर्ने भन्दै एनसेल सर्र्वोच्च अदालत पुगेको थियो । एनसेलको उक्त निर्णयउपर वैशाख १२ गते बसेको सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले एनसेलबाट कर नउठाउन कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । वैशाख २४ गते सर्र्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले सोही अन्तरिमलाई निरन्तरता दिने फैसला गरेको थियो ।
पछिल्लोेपटक भदौ ८ गते सर्वोच्च अदालतका न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भन्डारी, डम्बरबहादुर शाही, सुष्मलता माथेमा र डा। मनोजकुमार शर्माको संयुक्त इजलासले ठूला करदाता कार्यालयको कर निर्धारण प्रक्रियामा प्रश्न गर्दै उक्त प्रक्रिया बदर गर्न आदेश दिएको थियो । उक्त आदेशको बिहीबार सार्वजनिक पूर्णपाठले नै एनसेलको लाभकर निर्धारण गरेको हो ।







सम्बन्धित समाचारहरू

उपनिर्वाचनमा एक भोट पनि नपाउने अचम्मका उम्मेद्वार, आफ्नो भोट कसलाई हाले ?
पर्यटन वर्ष सफल बनाउन ३१ देशका राजदूतलाई मन्त्री योगेश भट्टराईको अनुरोध
स्वास्थ्यलाभ गरिरहेको प्रधानमन्त्री ओलीको भनाई, काममा फर्किन आतुर
विवाह पञ्चमीको रौनक, भारतबाट आएका जन्तीको राष्ट्रपतिबाट स्वागत
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार
अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या १८ पुग्याे १३ घाइते
प्रधानमन्त्री केपी शर्मा ओलीको अपरेसन सकियो, अस्पतालबाट डिस्चार्ज हुन समय लाग्ने
बढी शुल्क लिएका मेडिकल कलेजलाई शुल्क फिर्ता गर्ने आज अन्तिम दिन, नत्र पक्राउ गरिने
error: Content is protected !!