वीपी विचार यात्रा खोटाङ पुग्यो


नेपाली काँग्रेसले सञ्चालन गरेको बिपी विचार यात्रा खोटाङ पुगेको छ । विराटनगरबाट सुरु भएको विचार यात्रा सुनसरी, धनकुटा, भोजपुर हुँदै खोटाङ आएको हो । खोटाङ र भोजपुरको सङ्गमस्थल चखेवाभन्ज्याङमा आयोजित कार्यक्रममा काँग्रेस भोजपुरका जिल्ला सभापति बालकृष्ण थापाले खोटाङ सभापति विष्णुकुमार राईलाई झन्डासहित टोली हस्तान्तरण गर्नुभएको थियो । खोटाङले जिम्मा लिनासाथ जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बाँझेच्यानडाँडाको चखेवाभन्ज्याङदेखि सुरु भएको विचार यात्रा यही भदौ १२ गते लामीडाँडाको रभुवामा पुगेर समापन हुने काँग्रेस खोटाङ क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईले जानकारी दिनुभयो । टोलीले बाँझेच्यानडाँडाको चखेवाभन्ज्याङमा बिपी खानेपानी तथा सहिद कालुमान गुरुङ स्मृति उद्यान शिलान्यास गरेको नेविसङ्घका जिल्ला सभापति राजकुमार राईले जानकारी दिनुभयो । केन्द्रीय समितिका नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक मधु आचार्य नेतृत्वको टोलीले आइतबार बिहान शिलान्यास गरेको हो । टोलीले सोमबार दोर्पाचिउरीडाँडामा बिपी जागरणसभा तथा साकेला शिली प्रदर्शन कार्यक्रम गर्ने छ । टोलीले भदौ १० गते दिक्तेलबजारमा बिपी कोइरालाको जीवनीमा आधारित वृत्तचित्र प्रर्दशनी तथा बिपी विचार गोष्ठी सञ्चालन गर्ने छ । भदौ ११ गते नुनथलामा कार्यकर्ता भेटघाट, अर्खौलेको बिजुलेभन्ज्याङमासहिद पदमप्रकाश पुरी स्मृति उद्यान शिलान्यास, लामीडाँडामा नेपाल महिला सङ्घको आयोजनामा तीज विशेष कार्यक्रम तथा रभुवामा बिदाइ कार्यक्रम गरिने जिल्ला सभापति विष्णुकुमारले जानकारी दिनुभयो । टोली रामेछाप, बनेपा हुँदै काठमाडौँ पुग्ने र बिपीको जन्म दिन पारेर भदौ २४ गते समापन गर्ने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?