आज बाबुको मुख हेर्ने दिन, कुशे औंशी
भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राह्मणहरु शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पु¥याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरुप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो । आजकै दिन छोराछोरीहरु आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ । आजका दिन बाबु नहुनेहरु भने काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ । पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । गोकर्णमा आज मेलासमेत लाग्छ ।
युवक कविको जन्मजयन्ती
राष्ट्रिय विभूति युवक कवि मोतीराम भट्टको १४९औं जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण औंसीका दिनमा जन्मेका मोतीरामको विसं १९५३ भाद्र कृष्ण औंसीकै दिनमा अल्पायुमै निधन भएको थियो । नेपाली साहित्यको श्रीवृद्धिमा युवाकवि मोतीरामको योगदान महत्वपूर्ण रहेको छ । आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका मोतीरामले नेपालमा छापाखानासमेत भित्र्याएका थिए । नेपाली साहित्यमा शृङ्गार रसलाई उपयोग गरी साहित्यिक रचनामा योगदान पु¥याएका मोतीरामले नेपाली गजल साहित्यको श्रीवृद्धिमा समेत विशेष भूमिका खेल्नुभएको थियो । मोतीरामका गजल र ‘पिकदूत’ अनुवाद ग्रन्थ विशेष उल्लेखनीय साहित्यिक कृतिका रुपमा छन् ।