ईबोलाविरुद्ध उच्च सतर्कता अपनाइएको स्वास्थ्यमन्त्रीको दाबी


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले नेपालमा प्राणघातक इबोला भाइरस भित्रिने सम्भावना अन्त्यन्त न्यून भए पनि उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको छ ।

इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना भएको हेल्थ डेस्कको आज स्थलगत अवलोकन तथा जानकारी लिने क्रममा मन्त्री अधिकारीले इबोला भाइरस भित्रिन नदिन आवश्यक पर्ने सबै नीतिगत तथा प्राविधिक तयारीका साथ जुटिरहेका छौँ भाइरसका बारेमा जनचेतना जगाउन सबैको साथ र सहयोगको आवश्यक हुन्छ भन्नुभयो । शङ्कास्पद व्यक्तिलाई सूक्ष्म रूपमा परीक्षण गर्न त्यहाँ कार्यरत चिकित्सक र परिचारिकालाई आग्रह गर्नुभयो । मन्त्रालयले हालै सो डेस्कको स्थापना गरेको थियो । देशका अन्य आठ वटै नाकामा हेल्थ डेस्क स्थापना गर्न गृहकार्य भइरहेको छ । हेल्थ डेस्कमा परीक्षण गरी थप उपचार गर्न वीर तथा टेकु अस्पतालमा आवश्यक व्यवस्था मन्त्रालयले मिलाएको छ । मन्त्री अधिकारीले भारतमा इबोला भाइरस पाइएको पुष्टि नभएको जानकारी दिँदै सो विषयमा आनावश्यक प्रचार प्रसार नगर्न आग्रहसमेत गर्नुभयो । यसैबीच मन्त्री अधिकारीले आजै कान्तिबाल अस्पतालको निरीक्षण गर्दै अस्पतालमा उपकरण, औषधि तथा आवश्यक जनशक्ति अभाव हुन नदिने दृढता व्यक्त गर्नुभयो । “बालस्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा मन्त्रालयले आवश्यक सबै सहयोग गर्छ, तपाईंहरू निर्धक्क भएर सेवा गर्नुहोस्” मन्त्री अधिकारीले भन्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?