पोलियो रोगविरुद्धको नयाँ आइपिभी खोपको सुरुवात
पालियो रोगविरुद्धको नयाँ आइपिभी खोप प्राप्त गर्ने सौभाग्य शान्ता लिम्बूले प्राप्त गरेकी छिन् । दक्षिणपूर्वी एसियामा सो खोप प्राप्त गर्ने उनै १४ हप्ताकी बालिका बनिन् । विश्व स्वास्थ्य सङ्गठनलगायत विभिन्न दातृ संस्थाको आर्थिक एवम् प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियो रोगविरुद्ध शिशुलाई पालियो थोपाका अतिरिक्त सो खोप दिने काम सुरु गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले बालिका लिम्बूलाई लगाउने सो खोप तथा पोलियो थोपा परिचारिकालाई प्रदान गरी सो कार्यको सुरुवात गर्नुभएको थियो । परिचारिकाले खोप लगाइरहँदा बच्चा रोइन् । ती बालिकको रुने क्रम पाँचमिनेटसम्म थामिएको थिएन तर त्यहाँ उपस्थित नेपालका वरिष्ठ बाल चिकित्सक, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ, खोप अभियानमा संलग्न दातृ निकाय गाभीलगायतका सहयोगी संस्थाहरूमा कार्यरत उच्च पदाधिकारीहरूले ताली बजाएर त्यसको स्वागत गरे । दक्षिणपूर्वी एसियाका ११ देशमध्ये सो खोप प्रयोगमा ल्याउने नेपाल पहिलो देश बनेको छ । सो खोप पोलियो रोगविरुद्ध लड्नसक्ने क्षमताका लागि जन्मेको १४ हप्तासम्मको बच्चालाई दिइन्छ । शून्य दशमलव ५ एमएलको यो एक मात्रा खोप लगाएमा बच्चा पोलियो हुनबाट पूर्ण सुरक्षित हुन्छ । मन्त्रालयले पोलियो थोपा जन्मेको छ, १० र १४ हप्तामा तीनपटक शिशुलाई खुवाउँदै आएको थियो । सन् २०१८ सम्ममा नेपाललाई पोलियो उन्मूलन गर्ने सङ्गठनको ध्येयलाई सार्थक बनाउन मन्त्रालयले पोलियो थोपाका अतिरिक्त खोप सुरुवात गरेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले कार्यक्रममा जानकारी दिनुभयो । अमेरिकामा सन् १९५५ देखि सो खोप प्रयोगमा आएको थियो । नेपालमा सन् १९९९ देखि २०१० सम्ममा ३२ जनामा पोलियो रोग देखिएको थियो । चार वर्षदेखि नेपालमा पोलियोका रोगी नदेखिएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले नेपाल पोलियोशून्य भएको प्रमाणीकरणको प्रमाणपत्र गत वर्ष मन्त्रालयलाई दिएको थियो । “मुखबाट खुवाइने ओपिभी पोलियो थोपासँगै आइपिभी खोपले बच्चालाई पोलियो रोगविरुद्ध लड्न थप प्रतिरोधात्मक शक्ति प्रदान गर्ने हुनाले यसको सुरुवात गरेका हौँ,” बालस्वास्थ्य महाशाखाका प्रमुख डा. श्यामराज उप्रेतीले कार्यक्रममा भन्नुभयो । हाँले भन्नुभयो, “पोलियो रोगको सङ्क्रमण रोक्ने एकमात्र उपाय बच्चालाई पोलियो थोपा खुवाउनु हो, थोपाका अतिरिक्त खोपले पोलियो रोगबाट पूर्ण सुरक्षित बनाउँछ ।” नेपाल भारतका कारण पोलियोको उच्च जोखिममा छ । भारतसँग सीमा जोडिएका जिल्लाहरू यस रोगको उच्च जोखिममा रहेका छन् । पछिल्लो पोलियोका रोगी रौतहट जिल्लामा सन् २०१० मा देखिएको थियो । पोलियो उन्मूलनका लागि महाशाखाले चारवर्षे कार्ययोजना बनाई खोज पड्ताल जारीसमेत राखेको छ । पोलियो रोग पोलियो भाइरसबाट हुने सरुवा रोग हो । ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, बान्ता आउने, हातखुट्टा दुख्नेजस्ता लक्षण यो रोगका बिरामीमा देखा पर्छन् । केही बालबालिकामा पक्षाघात गराई अपाङ्गसमेत गराउने र मृत्युसमेत हुन सक्ने महाशाखाले जनाएको छ । पोलियो भाइरस प्रदूषित भएको खाना र पानीबाट सर्ने चिकित्सकको भनाइ छ । महाशाखा प्रमुख डा. उप्रेतीले भन्नुभयो, “आइभिपी खोप सुरक्षित हुन्छ, खोप दिइसकेपछि खोप दिएको ठाउँमा रातो र छाम्दा दुख्न सक्छ, पछि यस्ता लक्षण आफैँ हराएर जान्छ ।” विगत २५ वर्षमा बालस्वास्थ्य सुधारमा नेपालले उल्लेख्य प्रगतिसमेत गरेको छ । सन् १९९० मा पाँचवर्ष मुनिका जन्मेका प्रति एकहजार बालबालिकाको मृत्युदर १४७ थियो भने सन् २०११ मा आइपुग्दा त्यो सङ्ख्या ५४ मा झरेको छ । साथै, सन् १९८४ मा पोलियो थोपा खुवाउनेको सङ्ख्या ४४ प्रतिशत थियो । सन् २०११ मा आइपुग्दा त्यो सङ्ख्या ९० प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।