नेताहरु भन्छन्, वैद्यजीहरुले मौका गुमाउनुभयो


संविधानसभा निर्वाचन बहिस्कार गरेर संविधान निर्माण प्रक्रियामा सहभागी नभएको नेकपा–माओवादीकै मागअनुसार सरकारले तोकेको सर्वपक्षीय राजनीतिक सम्मेलन स्थगित भयो । सम्मेलनको तयारीसमेत अन्तिम चरणमा पुगेको थियो । कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले सम्मेलनको आवश्यक तयारी गरिरहनुभएको थियो । संविधानसभा भवनमा रहेको ल्होत्से कक्षमा सम्मेलनको तुल टाँसेर आवश्यक भौतिक तयारीसमेत भइसकेको थियो । तर प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दल र माओवादीको संयुक्त बैठकमा सहमति हुन नसकेपछि सम्मेलन एकाएक भाँडिन पुग्यो । सम्मेलनका लागि बिहान ९ बजेको समय तोकिएको थियो ।
नेताहरुको अभिव्यक्ति हेर्दा सम्मेलन भाँड्नामा एक अर्काप्रति दोष लगाइएको छ । सम्मेलन भाँडिएपछि अब के हुन्छ भन्नेबारेमा पनि काँग्रेस, एमाले र नेकपा माओवादीको फरक परक धारणा सार्वजनिक भएको छ । सरकारमा रहेका दलका नेताले संविधान निर्माणको महत्वपूर्ण मौका ‘वैद्यजीहरूले गुमाएको’ अभिव्यक्ति दिनुभएको छ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लामो तयारगुी गरेर अन्तिम समयमा आएर सम्मेलन स्थगन हुनु राम्रो नभएको बताउँदैै संविधान निर्माणको काम अब कार्यतालिकाअनुसार अगाडि बढ्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘वैद्यजीहरूले सुवर्ण मौका गुमाउनुभयो, संविधानसभामा रहेका दलले अब कार्यतालिकाअनुसार नै अगाडि बढ्नुपर्छ ।’’ माओवादीका उपाध्यक्ष सिपी गजुरेलले भने सम्मेलन स्थगन भए पनि चारदलीय कार्यदलको बैठक बसेर सहमति खोज्ने प्रयास भने जारी रहने बताउनुभएको छ । माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर उहाँले निर्णय गर्न सक्ने सम्मेलनको पक्षमा आफूहरू रहे पनि काँग्रेस एमाले त्यसको पक्षमा नभएको आरोप लगाउनुभयो । ‘‘शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र संविधान निर्माणमा आधारभूत सहमति खोज्ने उद्देश्यका साथ आयोजना गरिएको सम्मेलनलाई कुनै पनि निर्णय गर्ने र सहमति जुटाउने अधिकार नभएपछि सम्मेलनको औचित्य रहँदैन’’ उपाध्यक्ष गजुरेलको भनाइ छ । एमाओवादी नेताहरूले भने माओवादीलाई कुनै आरोप लगाउनुभएको छैन तर सभामा सहभागी नहुनुलाई भने गल्ती भएको बताउनुभएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा संवाददातासँग कुरा गर्दै एमाओवादी संसदीय दलका सचेतक गिरिराजमणि पोखरेलले भन्नुभयो ‘‘ कुन विषयमा असहमति हो, सहमति कायम गर्नका लागि कस्तो उपाय अबलम्बन गर्नुपर्ने हो भन्ने कुरा यही सभामा आएर राखेको भए राम्रो हुन्थ्यो, सम्मेलन बहिष्कार गरेर उहाँहरूले गल्ती गर्नुभयो ।’’
संविधानसभा माग गरेर लामो समय युद्ध गरेको शक्ति नै संविधानसभाबाट संविधान निर्माण प्रक्रियामा सहभागी नहुनु गलत भएको बताउँदै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले भन्नुभयो ‘‘संविधानसभा र गोलमेच सम्मेलन बहाना मात्र हो कि भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ, संविधान निर्माणको प्रक्रियाबाट माओवादी भागेको छ ।’’ शान्ति तथा पुनः निर्माण मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका कानुनमन्त्री नरहरि आचार्यले माओवादीको मागअनुसार सर्वदलीय राजनीतिक सभा गर्न चार दलको कार्यदलले विषयवस्तु र कार्यसूची तयार गरे पनि माओवादी अन्तिम समयमा सभामा सहभागी नहुनाले आशङ्का उत्पन्न भएको बताउनुभयो ।उहाँले भन्नुभयो ‘‘सर्वदलीय राजनीतिक सम्मेलन गर्न उहाँहरूसमेत सम्मिलित कार्यदलले बैठकको खाका तयार पारेको थियो, तर आज बैठकमा नआउनु उहाँहरूको कमजोरी हो ।’’ नेकपा–माओवादी संविधान निर्माणको प्रक्रियाबाट बहाना झिेकर भाग्न खोजेको उहाँको थप कथन थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?