पूर्वमन्त्री सिद्धराज ओझाको दाहसंस्कार, संसदमा शोक प्रस्ताव पारित


नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सिद्धराज ओझाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । राजधानीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा हिजो बेलुका ७ बजे निधन हुनुभएका पूर्वमन्त्री ओझाको पार्थिव शरिरलाई उहाँका छोरा पारस ओझाले दागबत्ती दिनुभएको थियो । ओझाको पार्थिव शरीरलाई बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । स्वर्गीय ओझाको पार्थिव शरिरलाई काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । श्रद्धाञ्जलिका लागि सभामुख सुवास नेम्वाङ, मन्त्रीहरू, सभासद्, काँग्रेसका केन्द्रीय पदाधिकारी एवम् सदस्यहरू, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रमुख तथा सदस्य केन्द्रीय कार्यालय पुगेका थिए । वि.सं. २००१ साल माघ ४ गते डोटीको गडसेरा गाँउ विकास समिति–६ मा जन्मनुभएका स्वर्गीय ओेझा विगत लामो समयदेखि मधुमेह, मृगौला र मुटुसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । वि.सं. २०४८ देखि २०५३ सम्म दुई पटक नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको सदस्य हुनुभएका नेता ओझा २०४८, २०५१ र २०५६ मा डोटी जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभएको थियो । नेता ओझाले २०४८ मा भूमिसुधार सहायकमन्त्री, २०४९ मा भूमि सुधार राज्यमन्त्री, २०५४ मा कानुन मन्त्री, २०५५ कानून तथा न्याय र वन तथा भू–संरक्षणमन्त्री, २०५६ असारमा सामान्य प्रशासन मन्त्री र २०५६ चैत्रमा भूमि सुधार तथा व्यवस्थामन्त्री र जनसङ्ख्या तथा वातावरण मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । नेपाल विद्यार्थी सङ्घका संस्थापक सदस्यसमेत रहनुभएका स्वर्गीय ओझा करिब १७ वर्ष नेपाली काँग्रेस जिल्ला कार्यसमिति डोटीको सभापति हुनुभएको थियो भने पटक–पटक गरी छ वर्ष जेल र सात वर्ष प्रवास (भारत) बस्नुभएको थियो । स्व. ओझाप्रति सम्मान व्यक्त गर्दै पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा भोलि एक दिन पार्टीको झण्डा आधा झुकाउने र केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गारोहणको तेह्रौँ दिन यही असोज २१ गते केन्द्र र सबै जिल्लाहरूमा शोकसभा आयोजना गर्ने पार्टीले निर्णय गरेको छ । नेपाली भाषा साहित्यमा स्नातकोत्तर गर्नुभएका स्वर्गीय ओझाले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । स्व ओझाका एक छोरी र एक छोरा हुनुहुन्छ ।

व्यवस्थापिका–संसद्को शुक्रबारको बैठक तत्कालीन प्रतिनिधिसभाका सदस्य सिद्धराज ओझाको बिहीबार बेलुकी भएको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बैठकको सुरुमै सभामुख सुवास नेम्वाङले २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा डोटी जिल्लाको तत्कालीन निर्वाचन क्षेत्र नं २ बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित ओझाको निधनप्रति शोक प्रस्ताव वाचन गरेर सुनाउनुभयो । सो प्रस्तावमा “नेपाली लोकतान्त्रिक आन्दोलनमा निरन्तर सङ्घर्षरत निष्ठावान नेता र नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ओझाको ७० वर्षको उमेरमा मृगौला तथा मुटु रोगको उपचारका क्रममा बिहीबार बेलुका ७ बजे काठमाडौँमा निधन भएकामा गहिरो शोक प्रकट गर्दछ” भनिएको छ । बैठकले ओझाको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । व्यवस्थापिका–संसद्को अर्को बैठक यही असोज १२ गते आइतवार अपराह्न ४ बजे बस्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?