बोगटीको घरमा पुगे दाहाल, भने समन्वयकारी थिए पोष्टबहादुर


एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले स्व नेता पोष्टबहादुर बोगटीले समयन्वयकारी भूमिकामार्फत दिनुदिएको एकताको सन्देशलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ । तुप्चे गाविसको भित्रिनीटारमा रहेको बोगटीको घरमा आयोजित १३ औँ दिनको श्रद्धाञ्जलि सभामा बोल्दै अध्यक्ष दाहालले पार्टीमा देखिएका गुट मिलाउनका लागि बोगटीको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै समन्वयकारी भूमिका निर्वाह गर्दागर्दै भएको बोगटीको निधनले दुखित बनाएको बताउनुभयो । ‘नारायणकाजी, बाबुराम र मलाई मिलाउनका लागि बोगटीको भूमिका महत्वपूर्ण थियो, दाहालले भन्नुभयो ‘‘उहाँको मृत्युले पार्टीलाई एक ढिक्का बनाउने सन्देशसमेत दिएको छ ।” दाहालले बोगटीले थालेका अधूरा काम पूरा गर्नका लागि ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’को स्थापना गरी सोही संस्थामार्फत सामाजिक विकास, मानवीय सेवा र विकासका अपूरो कामको थालनी हुने घोषणा गर्नुभयो । कार्यक्रममा बोल्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्रको आन्तरिक विवाद चुलिएको अवस्थामा बोगटीको दुःखद् निधनले एकताको सन्देश दिएको बताउनुभयो । कार्यक्रममा बोगटी परिवारको तर्फबाट ‘बोगटी सक्रिय पत्रकारिता पुरस्कार’को घोषणा पनि गरिएको छ । बोगटीका जेठा ज्वाइँ निर्मल आचार्यले नेपाल पत्रकार महासङ्घको समन्वयमा परिवारले अक्षयकोषको स्थापना गर्न लागेको बताउनुभयो । बोगटीले दिएको जग्गामा निर्माण भएको चण्डेश्वरी बहुमुखी क्याम्पसको पहलमा क्याम्पस हाताभित्र बोगटीको सालिक निर्माणको थालनी गरिने व्यवस्थापन समितिका अध्यक्ष सन्तोष रिजालले बताउनुभयो ।बोगटीका धर्मपत्नी राममाया बोगटीको सभापतित्वमा भएको श्रद्धाञ्जलिसभामा बोगटीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न ठूलो सङ्ख्यामा सर्वसाधारण र एमाओवादी कार्यकर्ता कार्यक्रम स्थलमा पुगेका थिए .

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?