सेनाले बनाएको पुल र सडकको प्रधानसेनापतिबाट अवलोकन
प्रधानसेनापति गौरवशमशेर जबराले नेपालमा पहिलोपटक सञ्चालनमा ल्याएको एक्रोब्रिजको आज अवलोकन गर्नुभयो । सिन्धुपाल्चोकको धुस्कुन र बाह्रविसे गाविसको सीमामा पर्ने सुनकोसी नदीमाथि सेनाले सो पुल जडान गरेको हो । यसबाट वैकल्पिक सुनकोसी मार्ग पूर्णरुपमा सञ्चालनमा आएको छ । सो पुलका आवश्यक सबै सामग्री सेनालाई अमेरिकाले सहयोग दिएको थियो । साउन १७ गते राम्चे र माङ्खा गाविसको सीमामा पर्ने जुरेमा गएको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको थियो । सरकारले तत्काल अरनिको राजमार्गको वैकल्पिक मार्गका रुपमा सेनाले खाडीचौर, एककिलो, पावर हाउस, उन्युचौर टेकनपुर, धुस्कुन हुँदै बाह्रविसेलाई चयन गरी यसको निर्माण गर्न सेनालाई जिम्मा दिएको थियो । अवरुद्ध अरनिको राजमार्ग खुलाउने क्रममा सेनाले सो स्थानमा एक्रोब्रिज जडान गरी आवात जावत सुरुवात गरेको थियो । सो अवसरमा प्रधानसेनापति राणालाई वैकल्पिक सडक र उक्त पुलको बारेमा सो सडक एवम् पुल निर्माण कार्यदलका प्रमुख सेनानी इन्दिवर गुरुङले जानकारी गराउनुभएको थियो । ‘एकैपटक पुलबाट जीप, मिनिट्रक ओहोर दोहोर गर्न सक्ने छन्’ प्रमुख सेनानी गुरुङले भन्नुभयो । पुलको लम्बाई १२० फिट, चौडाई पाँच दशमलब पाँच र ३० टन भारवहन क्षमता रहेको छ । सेनाले करिब एक महिनाको अन्तरमा सो सडक निर्माण गरी हिजो आइतबारदेखि पूर्णरुपमा यातायात सञ्चालनमा ल्याएको थियो । भदौ २५ गतेदेखि आंशिकरुपमा सो सडक सञ्चालनमा आएको थियो । हालसम्म ९३ वटा हल्का सवारी साधान सो सडक क्षेत्रमा आवत जावत गरेको नेपाली सेनाले जनाएको छ । वैकल्पिक मार्ग खुलाउने क्रममा सेनाले यसअघि २०४९ सालमा पृथ्वी राजमार्गमा बेलीब्रिज जडान गरेको थियो । ‘हामीले दुई दिनमा एक्रोब्रिज जडान कार्य सम्पन्न ग¥यौँ, पछि पनि दुई दिनमा निकाल्न सकिन्छ’ सेनानी गुरुङले भन्नुभयो । सेनाले सञ्चालनमा ल्याएको खाडीचौरदेखि बाह्रबिसे बजारसम्मको सडक करिब ११ किलोमिटर रहेको छ । साउन २७ गतेदेखि सेनाले सो सडक निर्माण कार्य सुरु गरेको थियो । प्रमुख सेनानी गुरुङले वैकल्पिक सडकमध्ये साधारण मर्मत आठ किलोमिटर र तीन किलोमिटर मात्र नयाँ ट्रयाक खोलिएको जानकारी दिनुभयो । सैनिक ७१२ र गैरसैनिक ५० जना, एउटा डोजर, तीन एस्काभेटर, चारवटा रक ड्रिल, एउटा कम्प्रेसर परिचालन गरी सेनाले सो सडक निर्माण गरेको थियो । सो अवसरमा प्रधानसेनापति राणाले नेपाली सेनालाई सरकारले दिएको जुनसुकै जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिरहेको र सो कार्यअन्र्तगत यहाँको सडक र पुल निर्माण गरिएको हो भन्नुभयो ।