नेपालमा पेट्रोलियम पदार्थको ‘स्वचालित मूल्य प्रणाली’ लागू
सरकारले नेपालमा आयात हुने पेट्रोलियम पदार्थमध्ये पेट्रोल, डिजेल र मट्टितेलमा ‘स्वचालित मूल्य प्रणाली’ लागू गरेको छ । भारतको रक्सौलबाट आयात गर्ने मूल्यलाई नै आधार मूल्य मानेर अन्तर्राष्ट्रिय बजारअनुसार सो मूल्य प्रणाली कायम गर्न लागिएको हो । महिनामा दुईपटसम्म मूल्य समायोजन हुन सक्नेछ । नेपालमा बिक्री हुने पेट्रोलियम पदार्थको मूल्यमा निगमको ऋणको व्याज खर्च, सरकारले लिने कर, ढुवानी खर्च, बिमा खर्च, निगमको प्रशासनिक खर्च, निगमलाई हुने प्राविधिक नोक्सानी र डिलरलाई उपलब्ध गराउने कमिसनसमेत समावेश गरिएको हुन्छ । पेट्रोलियम पदार्थको उत्पादन नेपालमा नहुने हुँदा पूर्णतया आयातमा निर्भर हुनुपर्ने भएकाले मूल्यवृद्धिले निम्ताउने असर र यसको दीर्घकालीन सुधारका लागि सो प्रणाली अवलम्बन गरिएको हो । सो प्रणालीअनुसार मूल्य निर्धारण पारदर्शी भई आम उपभोक्तालाई ती वस्तुको सहज आपूर्ति हुने नेपाल आयल निगमको आर्थिक सन्तुलन सुदृढ हुनेछ । अन्तर्राष्ट्रिय बजारमा हाल कायम भएको मूल्यअनुसार पेट्रोलमा रु १.४४ पैसा र डिजेल र मट्टितेलमा ०.२७ पैसा उपभोक्तालाई कम पर्नेछ । यसबाट नेपाल आयल निगमकोे आम्दानीमा प्रतिमहिना रु तीन करोड ६२ लाख कमी हुनेछ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री सुनिलबहादुर थापाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतार चढावका कारण ती वस्तुको सहज, सरल र व्यवस्थित ढङ्गले निरन्तर आपूर्ति एवम् वितरण गर्न तथा उपभोक्ता वर्गको हितका लागि सो प्रणाली लागू गर्न लागिएको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको बिक्रीमा यो एक महत्वपूर्ण कार्य भएको बताउँदै एलपी ग्यासको रातो र निलो रङ्गको सिलिण्डरको प्रयोग र वितरणसम्बन्धी आदेशमा संशोधन गरी घरायसी प्रयोजनको लागि सहुलियत मूल्य र व्यावसायिक प्रयोजनको लागि परल मूल्य कायम गरिने जानकारी दिनुभयो ।