मलाई हटाए एन्फा निलम्बनमा : गणेश थापा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष गणेश थापाले संसदीय लेखा समितिले भनेजस्तो अनियमितता सो सङ्घभित्र नभएको जिकिर गर्नुभएको छ । एन्फाद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले एन्फाभित्र अनियमिता भएको÷नभएको विषयमा आयोगले छानबिन सुरु गरिसकेकाले त्यसमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोगले छानबिनका लागि आवश्यक ९० प्रतिशत कागजपत्र लगिसकेकाले लेखा समितिमा आफूले यथेष्ट प्रमाण पेस गर्न नसकेको स्ष्पष्टीकरण दिँदै अध्यक्ष थापाले संस्थाको विधानअनुसार कार्यसम्पादन भइरहेको बताउनुभयो । संस्थामा आफूलाई पदबाट हटाइए एसियाली फुटबल महासङ्घ (एएफसी) र अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) लगायत अन्य अन्तर्राष्ट्रिय फुटबल संस्थामा नकारात्मक सन्देश गई एन्फालाई निलम्बन गर्न सक्ने भएकाले त्यसप्रति सचेत हुन सबैसँग आग्रह गर्नुभयो । यसअघि आइतबार संसद्को सार्वजनिक लेखा समितिले एन्फामा अध्यक्ष थापाले रु ५८ करोड बराबरको. आर्थिक अनियमितता गरेको जनाई उहाँलाई सो पदबाट हटाउन सरकारलाई निर्देशन दिएको थियो ।