सिड्नीमा मुस्लिम महिलामाथि गालीगलौज
सिड्नीको न्यूक्यासन क्षेत्रमा सोमबार साँझ दुई मुस्लिम महिलामाथि एक व्यक्तिले गालीगलौज गर्दै धम्क्याएपछि निजलाई पक्राउ गरिएको छ ।
रातभर हिरासतमा राखेपछि आज स्थानीय अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ । कारमा रहेका दुई महिलामाथि निजले उनीहरुको धर्ममाथि प्रहार गर्दै जथाभावी बोलेको थियो । घटनास्थलमा प्रहरी पुग्नुअघि स्थानीय अन्य व्यक्तिहरुले उक्त पुरुषलाई यस्तो गर्नबाट रोक्ने प्रयत्न गरेका थिए । तर, उनीहरु सफल हुन सकेनन् । निजले आक्रोशित हुँदै तथानाम गाली गर्दा गाडीको छेउको पछाडि हेर्ने सिसा समेत फुटाइदिएको छ । घटना सोमबार साँझ ७ बजेतिरको भएको र पक्राउ पर्ने व्यक्ति २७ वर्ष उमेरको रहेको प्रहरीले जनाएको छ । मुख्य ईन्स्पेक्टर डीन ओस्लानका अनुसार घटनापछि दुई महिलाहरु त्रसित अवस्थामा छन् । पक्राउ परेका यी व्यक्तिलाई विभिन्न अभियोग लगाइने भएको छ ।
ओस्लानले भने महिलाहरुमाथि दुव्र्यवहार भइरहँदा बचाउनका निम्ति सक्रिय भूमिका खेल्ने स्थानीयलाई धन्यवाद दिएका छन् र भनेका छन् कम्तिमा हाम्रो समाज यस्ता घटनामा तत्कालै प्रतिक्रिया दिन सक्षम छ र गलत काम गर्नेलाई रोक्न पनि ।