परराष्ट्रमन्त्री पाण्डे स्वदेश फिर्ता, जपानसँग परामर्श संयन्त्र बनाइने
परिवर्तित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेशका सन्दर्भमा द्विपक्षीय सम्पर्क र समन्वयलाई अझ प्रगाढ तथा प्रभावकारी बनाउन नेपाल र जापानका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्न दुवै देश सहमत भएका छन् । जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा पाँचदिने भ्रमण सम्पन्न गरी शुक्रबार नेपाल फर्कनुभएका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भ्रमणका अवसरमा नेपालको वर्तमान राजनीतिक अवस्था तथा संविधान निर्माणका दिशामा भएको प्रगतिका बारेमा जापानी पक्षले चासो राख्दै निर्धारित समयमै जारी हुने विश्वास लिएको बताउनुभयो । उहाँका अनुसार नेपालमा आगामी मङ्सिरमा हुने अठारौं सार्क शिखर सम्मेलनमा पर्यवेक्षक राष्ट्रका हैसियतमा जापानको उच्चस्तरीय प्रतिनिधिमण्डलले सक्रिय सहभागिता जनाउने छ । मन्त्री पाण्डेले उपर्युक्त अवसरमा नेपाल भ्रमण गर्ने वचन जापानी समकक्षी फुमियो किसिदाले दिनुभएको पनि जानकारी दिनुभयो । द्विपक्षीय भेटका अवसरमा नेपाल र जापानले विश्व शान्ति, भ्रातृत्व, विकास र समुन्नतिलगायत आपसीय सहयोगका विषयमा विचारविमर्श भएको थियो । मन्त्री पाण्डेले जापान नेपाल संसदीय मैत्री संस्थाका पदाधिकारी, जापानका कृषि, वन तथा मत्स्य विकाससम्बन्धी संसदीय उपमन्त्री, जापान अन्तर्राष्ट्रिय सहयोग नियोगका वरिष्ठ उपाध्यक्षसँग पनि भेटवार्ता गर्नुभएको थियो । उहाँले भ्रमणबाट दुई देशबीचको सौहार्द्रपूर्ण सम्बन्धलाई नेपालको हित अनुकूल बनाउनु आवश्यक रहेको पनि बताउनुभयो ।