प्रधानमन्त्रीबाट शेराटन काठमाडौं होटलको शिलान्यास


प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन गैरआवासीय नेपालीहरूलाई आग्रह गर्नुभएको छ । कान्तिपथमा निर्माण गर्न लागिएको ‘शेराटन काठमाडौँ होटल’ को आज शिलान्यास गर्दै उहाँले भन्नुभयो, “गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले शेराटन होटलमा गरेको लगानीले अन्तर्राष्ट्रिय लगानीकर्तालाई ठूलो उत्प्रेरणा गरेको छ, यसलाई उदाहरण मानेर अरूले पनि लगानी भित्र्याउनुस् ।” प्रधानमन्त्री कोइरालाले नेपालमा ६० वर्षदेखि अवरुद्ध विकासलाई गैरआवासीय नेपालीको ठूलो लगानीले ढोका खोलिदिएको भन्दै यसले ऊर्जा, कृषिलगायतमा लगानी गर्न सबैलाई बाटो खुलेको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले नेपाल शान्ति, स्थायित्व र लोकतन्त्रको दिशामा निरन्तर अघि बढेको उल्लेख गर्दै सबै दलहरू संविधान निर्माणमा प्रतिबद्ध रहेकाले अब कुनै किसिमको बाधा अवरोध नहुने विश्वास व्यक्त गर्नुभयो । नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले नेपालमा यस किसिमको ठूलो लगानीले पर्यटन र अर्थतन्त्रको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । शेराटन होटलका अध्यक्ष शेष घलेले काठमाडौँमा पाँचतारे होटल सञ्चालन गर्ने पाँच वर्षको प्रयासपछि सफल भएको भन्दै यसले नेपालको अर्थतन्त्र र पर्यटन पूर्वाधार खडा हुनुका साथै मुलुकको सबैभन्दा बढी सम्भावना बोकेको पर्यटन उद्योगको प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । नेपालमा राजनीतिक अस्थिरता र सुरक्षित वातावरण नरहेको अवस्थामा आफ्नो मात्रृभूमिमा विकास गर्ने लक्ष्यका साथ जोखिम मोलेर ठूलो लगानीको परियोजना सुरु गरेको भन्दै उहाँले लगानीमैत्री वातावरणका लागि नेपालको राजनीतिक नेतृत्व र प्रशासनिक निकाय अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
आठ अर्बको लगानीमा पाँचतारे होटल बन्दै
एमआइटी ग्रुप होल्डिङसको लगानीमा काठमाडौँमा पाँचतारे ‘शेराटन काठमाडौँ होटल’ निर्माण गर्न लागिएको छ । कान्तिपथस्थित केशरमहलसँगै रहेको करिब १४ रोपनी क्षेत्रफलमा रु आठ अर्बको लगानीमा निर्माण गर्न लागिएको १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेष्टरुम रहने छ । होटलमा सतप्रतिशत वैदेशिक (अष्ट्रेलियन) लगानी रहने छ । होटलको प्रवद्र्धक अष्ट्रेलियाको एमआइटी ग्रुप होल्डिङस रहेको छ भने व्यवस्थापन तथा सञ्चालन सिङ्गापुरको स्टारबुड ग्रुपले गर्नेछ । होटल शेराटनमा २१८ वटा गेष्टरुम र सुइट रहने छन्, होटल निर्माणका क्रममा करिब ५० हजारले प्रत्यक्ष रोजगारी पाउने र होटल सञ्चालनपछि ४५० जना दक्ष जनशक्तिले रोजगारी पाउने कम्पनीले जनाएको छ । होटलको नक्सा पास भइसकेको र शिलान्यासलगत्तै निमार्ण कार्य सुरु गरी सन् २०१८ फेब्रुअरी महिनाबाट होटल सञ्चालन गर्ने लक्ष्य रहेकोे छ ।अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित शेराटन होटल नेपाल आउनु मुलुकको पर्यटन उद्योग र समग्र आर्थिक विकासमा समेत महत्वपूर्ण उपलब्धि हो भन्दै यसले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा ठूला परियोजना सुरु गर्न प्रोत्साहन मिल्नुका साथै शेराटनजस्तै अन्तर्राष्ट्रिय चेन होटललाई नेपाल आउन हौसला मिल्नेछ, एमआइटी ग्रुप होल्डिङस नेपाल प्रालिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गैर आवासीय नेपाली सङ्घका अध्यक्ष शेष घले र जमुन गुरुङद्वारा प्रवद्र्धित अष्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको एमआइटी ग्रुप होल्डिङले शिक्षा र रियलस्टेट क्षेत्रमा काम गरिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?