प्रधानमन्त्री र भारतीय पूर्वमन्त्रीको भेट
प्रधानमन्त्री सुशील कोइरालासँग आइतबार नेपाल भ्रमणमा रहनुभएका भारतका पूर्व सङ्घीय मन्त्री डा भीष्मनारायण सिंहले भेटवार्ता गर्नुभएको छ । भेटवार्ता नेपाल–भारत सम्बन्ध, नेपालको शान्ति प्रक्रिया, संविधान लेखन प्रक्रियाजस्ता विषयमा केन्द्रित भएको थियो । भारतकी प्रधानमन्त्री स्व इन्दिरा गान्धीको सरकारमा संसदीय मामिला, खाद्य र आपूर्ति मामला, कार्य, आवास–श्रमसहित सञ्चार मन्त्रीसमेतको जिम्मेवारी सम्हाल्नुभएका सिंह, तामिलनाडु, आसाम, मेघालय, सिक्किम र अरूणाचल प्रदेशको गभर्नर र उत्तरपूर्वी परिषद्का अध्यक्षसमेत रहनुभएको थियो । उहाँ भारतीय काँग्रेस पार्टीको प्रमुख सचेतक पनि रहिसक्नुभएको थियो । उहाँले प्रधानमन्त्री कोइरालाको प्रधानमन्त्रीत्वकालमा नै नेपालले संविधानसभाबाट नयाँ संविधान पाउने विश्वास व्यक्त गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाका प्रमुख स्वकीय सचिव बसन्तकुमार गौतमको पनि उपस्थिति रहेको थियो ।