बारा घटनाबारे संसदमा गृहमन्त्रीले दिए जवाफ, छानविन समिति बनाउने


सुरक्षाकर्मीले शनिबार बारा जिल्लामा आत्मरक्षाका निम्ति बाध्य भएर गोली चलाउँदा एकजना आन्दोलनकारीको मृत्यु भएको सरकारले स्पष्ट गरेको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा बारा घटनाबारे जानकारी दिँदै उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले उक्त घटनाको छानबिन गर्न सरकारले चाँडै समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सिम्रौनगढ–कलैया सडकखण्ड मर्मतको माग गर्दै स्थानीय बासिन्दाले गरेको विरोध प्रदर्शन नियन्त्रण बाहिर गएपछि सुरक्षाकर्मीबाट चलाइएको गोलीबाट हरिहरपुरका अन्दाजी ३५ वर्षीय जयनारायण पटेलको मृत्यु भएको अर्का एकजना गम्भीर घाइते भएका र उनकोे काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । “घाइते २२ वर्षीय युवक साह मोहम्मद अहिले खतरामुक्त हुनुहुन्छ”, उहाँले भन्नुभयो । छानबिन समितिले घटनाको सत्यतथ्य बाहिर ल्याएपछि उचित क्षतिपूर्ति र सांसद्हरूले गर्नुभएका माग पूरा गर्न सरकारलाई सहन हुने बताउँदै उहाँले बारामा शान्ति, सुव्यवस्था एवम् सामाजिक सद्भाव कायम गर्न गृह प्रशासन लागिपरेको जानकारी दिनुभयो । घटनामा घाइते भएका सशस्त्र प्रहरीका जवानहरूकोे वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘‘सडक मर्मतको काम सुरु गर्दा पनि सयौँ स्थानीयले सडक अवरोध गरेका, इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई झन्डै एक हजार २०० स्थानीयवासी र विद्यार्थीले घेरेर तोडफोड गरेका र सुरक्षाकर्मी बसेको गाडीमा आगजनी र कार्यालयमा रहेका उनीहरूका पोसाकमा आगो लगाएपछि स्थितिलाई नियन्त्रण गर्न गोली चलाउन सुरक्षाकर्मी बाध्य भए ।’’ सुरक्षाकर्मीले पटक–पटक सम्झाइबुझाइ गर्दा पनि भीड उत्तेजित भएपछि ६०० सेल अश्रुग्यास र एक राउण्ड हवाइफायर गर्दा पनि उत्तेजित भीड नहटेपछि गोली चलाउनुपर्ने परिस्थिति उत्पन्न भएको उहाँको कथन थियो । घटनास्थल र आसपासका क्षेत्रमा शनिबार साँझदेखि कफ्र्यू आदेश जारी गरी स्थितिलाई सामान्य बनाउने प्रयास भएको र स्थानीय राजनीतिक दल, त्यहाँका बासिन्दा एवम् सुरक्षाकर्मीको पहलमा आवश्यक काम भइरहेको जानकारी गृहमन्त्रीले दिनुभयो । उहाँले सडक मर्मतको मागअनुसार काम सुरु भइसक्दा पनि स्थानीयवासी उत्तेजित हुनुको कारण बुझ्न नसकिएको भन्दै स्थितिलाई बढाउने र चर्काउनेभन्दा पनि मिलाउनेतर्फ लाग्न सांसदहरूलाई अनुरोध गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?