परराष्ट्रमन्त्री पाण्डे ढाकामा, सार्कको निम्तो दिँदै


परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे आगामी १८औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सम्मेलनमा सहभागी हुनका लागि बङ्गलादेशका प्रधानमन्त्रीलाई निम्तो दिन राजधानी ढाका पुग्नुभएको छ । प्रधानमन्त्री सुशील कोइरालाले काठमाडौँमा आगामी मङ्सिर १० र ११ गते हुने सार्क सम्मेलनमा सहभागी हुन बङ्गलादेशका प्रधानमन्त्रीलाई पठाउनुभएको निम्तो लिएर मन्त्री पाण्डे त्यसतर्फ जानुभएको हो । उहाँलाई बङ्गलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठ र त्यहाँको विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीले ढाकामा रहेको शाह जलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । मन्त्री पाण्डेको स्वागतमा बङ्गलादशका विदेशमन्त्री एएच मोहम्मद अलीले आज रात्रिभोजको आयोजना गर्नुभयो । परराष्ट्रमन्त्री पाण्डेले सोमबार बङ्गलादेशी प्रधानमन्त्रीलाई भेटी सार्क सम्मेलनको निम्तो दिने कार्यक्रम छ । उहाँ सार्क सम्मेलनका लागि प्रधानमन्त्री कोइरालाले पठाएको निम्तो लिएर यही असोज २८ गते भुटान गई असोज २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?