जुम्लामा चौधरी, सामाजिक क्षेत्रमा लगानी गर्न कर्णालीवासीलाई सुझाव
चौधरी ग्रुप नेपालका अध्यक्ष विनोद चौधरीले सामाजिक क्षेत्रमा लगानी गर्न कर्णालीवासीलाई आग्रह गर्नुभएको छ । चौधरी ग्रुप तथा अन्तर्राष्ट्रिय लायन्स क्लबको संयुक्त लगानीमा सञ्चालित पाइलट प्रोजेक्ट नेपाल सोसल विजनेसको अवलोकनार्थ जुम्ला आइपुग्नुभएका चौधरीले कर्णाली तथा मुलुकका सम्पूर्ण उद्यमीलाई पुँजीको सही सदुपयोग गर्न सार्वजनिक कार्यक्रममा बताउनुभयो । उहाँले रोजगारी सिर्जना भई त्यसको अधिकतम उत्थान हुने कुरामा समग्र जनतालाई प्रेरणा दिँदै हालैमात्र आगलागी भएको जीर्ण चन्दननाथ बाबाको मन्दिरको मर्मतका लागि रु ५० हजार सहयोग गर्ने बताउनुभयो । सभासद् बलबहादुर महतले कर्णालीको पीडा बोध गरी सामाजिक व्यापारबाट योगदान दिन र कर्णालीका जनतासँग माया र सद्भाव राख्न थालेको अभियानप्रतिको सराहना गर्नुभयो । त्यसैगरी अन्तर्राष्ट्रिय लायन्स क्लबका पूर्व अध्यक्ष ब्यारी पाल्मरले कसैबाट एउटा फूल लिएर सन्तुष्ट हुनेभन्दा पनि आफ्नै बगैँचामा हजारौँ फूलको मज्जा लिन कोसिस गर्नुपर्ने बताउनुभएको थियो । नेपाल सोसल विजनेसअन्तर्गत जुम्ला जिल्लाको कुडारीमा मितेरी उद्योग, तातोपानी गाविसमा तातोपानी पर्यटन विकास, सदरमुकाम खलङ्गामा अर्गानिक फलफूल र मितेरी शान्तिवाटिकालगायतका चारवटा क्षेत्रमा प्रत्येकमा रु २० देखि ३० लाख बजेटमा काम हुने एक्सन वर्क नेपालका अध्यक्ष राधा पौडेलले जानकारी दिनुभएको छ ।