माघको पहिलो साता देशले संविधान पाउने प्रधानमन्त्रीको भनाई
प्रधानमन्त्री सुशील कोइरालाले विवादित विषयमा सहमति भई माघको पहिलो हप्ताभित्र संविधान जारी हुने बताउनुभएको छ । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले काठमाडौंमा आयोजना गरेको ‘पुरस्कार वितरण तथा सम्मान’ कार्यक्रममा उहाँले शान्ति प्रक्रियाका लागि हातहतियार व्यवस्थापनजस्तो जटिल काम सबै दलहरू मिलेर पूरा भएको उल्लेख गर्दै संविधान आउनेमा पनि कुनै शङ्का गर्नु पर्दैन भन्नुभयो । प्रधानमन्त्री काइरालाले भन्नुभयो, “सबैले राष्ट्र र जनताप्रति उत्तरदायित्व बहन गर्नुपर्छ, सधँै द्वन्द्व गर्न हुँदैन, यो निरास हुने बेला होइन, तोकिएको मितिमै संविधान जारी गर्नेमा प्रतिबद्ध हुनुुपर्छ ।” नेपालमा प्राकृतिक रूपमा जलस्रोत, पर्यटन, कृषि र बहुमूल्य जडीबुटीको प्रचूर सम्भवना भएर पनि त्यसको विकास गर्न नपाउनु दुःखको कुरा भएको बताउँदै उहाँले अब मुलुकको विकासका लागि सबै दलहरू एकताबद्व भएर काम गर्नुपर्ने आवश्कता छ भन्नुभयो । प्रधानमन्त्री कोइरालाले मुलुकको जलस्रोत विकासका निम्ति विद्युत् व्यापार सम्झौता (पिटिए) र परियोजना विकास सम्झौता (पिडिए) गरिसकेको उल्लेख गर्दै नेपालको सार्वभौमसत्तामा असर पर्ने गरी भने कुनै सम्झौता नगर्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले पद्म–भुवनेश्वरी नमुना वृद्ध सेवाश्रम नेत्रगञ्ज–३, जुटपानी, सर्लाहीलाई रु दुई लाख राशिको ‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ र वृद्धाश्रमका संस्थापक वासुदेवशरण कोइराला र अध्यक्ष भवानी कोइरालालाई सम्मानपत्र प्रदान गर्नुभयो । विसं २०५५ मा स्थापित वृद्धाश्रमले बेसहारा र आश्रयहीन वृद्धवृद्धा एवम् बालबालिकालाई सहारा दिई सम्मानपूर्वक जीवनयापन गर्न सहयोग गर्दै आएको कोषका सदस्य सचिव दिवाकर पौडेलले जानकारी दिनुभयो । कोषका अध्यक्ष धु्रव नेपालले सम्मानित वासुदेवशरणले वृद्धाश्रमलाई आफ्नो घर र जग्गा दिएर र भवानीले वृद्धाश्रमको स्थापनाकालदेखि नै निःस्वार्थ भावले सेवा पु¥याएको बताउनुभयो ।