सहमतिका आधारमा अघि बढ्न प्रचण्ड नेतृत्वको मोर्चाको आग्रह, सत्ताधारी दलहरु बहुमतको खेलमा लागेको आरोप
एकीकृत नेकपा(माओवादी)नेतृत्वको सङ्घीय गणतान्त्रिक मोर्चाले संविधान निर्माण प्रक्रियालाई सहमतिका आधारमा नै अगाडि बढाउन पुनःआग्रह गरेको छ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको मोर्चाको बैठकले प्रक्रियाको नाममा बहुमतका आधारमा संविधान जारी गर्न खोजिए त्यो आफूहरुलाई मान्य नहुने निष्कर्ष निकालेको छ । संविधान निर्माणको क्रममा प्रमुख विवादित विषयका रुपमा रहेको शासकीय स्वरुप, राज्य पुनःसंरचना तथा निर्वाचन र न्याय प्रणालीमा सहमति जुटाउन विभिन्न आन्दोलनका क्रममा अभिव्यक्त जनमत, बाह्रबुँदे सहमति, अन्तरिम संविधान तथा विस्तृत शान्ति सम्झौताको मर्म र भावनालाई आत्मसात् गर्नुपर्नेमा मोर्चाले जोड दिएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै फोरम (लोकतान्त्रिक)का महामन्त्री जितेन्द्र देवले प्रमुख तीन दलका बीचमा संविधान क्रममा भएको प्रगति र विशेषगरी सत्ताधारी दलको व्यवहारका विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले सत्ताधारी दल विगतमा भएका सहमतिबाट पछि हटेकाले सहमति हुन नसकेको ठहरसमेत गरेको बताउनुभयो । आज पहिचानमा आधारित सङ्घीय मोर्चालगायत विभिन्न दलसँग संविधान निर्माणका विषयमा छलफल गरिने भएको छ ।