गंगामायाको अवस्था गम्भीर, छोरा बेखबर, श्रीमानको शव शिक्षण अस्पतालमा
तीन सय ६३ दिनदेखि अनशनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उच्च रक्तचाप, नाडी र श्वास फेर्ने प्रणाली सामान्य अवस्थामा रहे पनि खाना नखाएका कारण अधिकारीको स्वास्थ्य खस्कँदै गएको वीर अस्पतालका निर्देशक डा स्वयम्प्रकाश पण्डितले बताउनुभयो । चार हप्तादेखि तिघ्रामा प्वाल पारी पोषणतत्व(टिपिएन) दिइरहेको भए पनि बुधबारदेखि त्यो पनि दिन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “शरीर सुकेर नसासमेत नभेटिने अवस्था छ, त्यसैले स्लाइन र टिपिएन दिने ठाउँसमेत छैन ।’ निर्देशक पण्डितका अनुसार श्रीमती अधिकारी बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ । विसं २०६१ मा १७ वर्षे छोरा कृष्णप्रसादको हत्या भएपछि गङ्गामाया र उहाँका श्रीमान् नन्दप्रसाद अनशनमा बस्नुभएको थियो । अनशनरत अवस्थामै गत असोज ६ गते नन्दप्रसादको मृत्यु भएको थियो । उहाँको शवलाई अहिलेसम्म पनि शिक्षण अस्पतालमा नै राखिएको छ । छोरा नूरप्रसादले शव बुझ्न अस्वीकार गरेपछि यस्तो स्थिति आएको हो । छोरा कहाँ छन् कसैलाई थाहा छैन । अर्कोतर्फ गृहमन्त्रीले ठूलो धनराशी मागेपछि नूरप्रसाद बेपत्ता भएको बताएका छन् । मानवीय हिसाबले पनि परिवारको विचल्ली भएको छ । अत्यन्तै दुःखद परिस्थिति निर्माण भएको छ अधिकारी परिवारमा ।