खेतमा बाख्रा पसेको निहुँमा भारतमा एक किशोरलाई ज्यूँदै जलाएर मारियो
भारतको बिहारस्थित रोहतास जिल्लाको मोहनपुर गाउँमा एक किशोरलाई ज्यूँदै आगो लगाएर मारिएको छ । सामान्य विवादमा निर्घात कुटपिट गर्ने र आगो लगाउने संजय सिंहलाई प्रहरीले पक्राउ गरेको छ । उनको मात्र दोष थियो उनी तल्लो जातिका थिए । भारतमा र अझ मुख्यगरी बिहारमा जातभातको भेदभाव निकै हुने गरेको छ । बुधबार बाख्रा चराउन गएका साईरामको बाख्रा निज सिंहको खेतमा पसेको थियो । यही कुरामा निजलाई नियन्त्रणमा लिएर कुटपिट गरिएको थियो । र, पछि तेल खन्याएर आगो समेत लगाइयो । पूर्णत जलेको अवस्थामा किशोरलाई स्थानीय विक्रमगञ्ज अस्पताल लगिए पनि चिकित्सकहरुले मृत घोषित गरेका थिए । घटनापछि पूरै गाउँ तनावमा छ र आन्दोलित बनेको छ । प्रहरीले घटनामा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन केही मत्थर भएपनि स्थिति तनावपूर्ण नै रहेको अधिकारीहरुले जनाएका छन् ।
ट्रिपल सेन्चुरी बनाएर अष्ट्रेलियाका क्रिकेट खेलाडी जेम्स टलले बनाए वल्र्ड रेकर्ड
४४ ओभरको खेलमा अष्ट्रेलियन क्रिकेट खेलाडी जेम्स टलले २५ छक्का र ३४ चौकाको मद्दतले ३ सय ४१ रन बनाएर विश्व कीर्तिमान कायम गरेका छन् । ५१ वर्षीय सीमित ओभरको क्रिकेट इतिहासमा यो पहिलो ट्रिपल सेन्चुरी बन्न पुगेको छ । यसअघि ईंग्ल्याण्डका एलिस्टर ब्राउनले सन् २००२ मा बनाएको २ सय ६८ रनको विश्व रेकर्ड तोड्दै आफ्नो नाममा रेकर्ड दर्ज गराएका हुन् । जेम्स टलले क्वीन्सल्याण्ड वेयरहाउस क्रिकेट एशोसिएसन टुर्नामेन्टमा यस्तो रेकर्ड बनाएका हुन् । ४४ ओभरको खेलमा ४२ औं ओभरमा आउट भए पनि वल्र्ड रेकर्ड तोडिइसकेको थियो । उनको ३ सय ४१ रनसहित टिमले ४ सय ५७ रन बनाउन सफल भयो । ४ सय ५८ रनको लक्ष्य लिएर मैदानमा आएको साईलेन्ट असेसिन टिमले ४४ ओभरमा मात्र २ सय ३२ रन बनाउन सक्यो र २ सय २५ रनको अन्तरले माष्टर हिल विजयी हुन पुग्यो ।