एमाओवादी नेतृत्वको मोर्चाले नेपाल सम्वत नयाँ वर्षमा चियापान आयोजना गर्ने, सहमतिको आधारमा संविधान निर्माण प्रक्रिया अघि बढाउन मोर्चाको आग्रह
एकीकृत नेकपा (माओवादी) नेतृत्वमा रहेको २२ दलिय मोर्चाले संविधान निर्माण प्रक्रियालाई सहमतीय आधारमा अगाडि बढाउन आग्रह गरेका छन् । एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको मोर्चाको बैठकले विगतमा सहमति तथा सम्झौतालाई अक्षरशः कार्यान्वयन गर्दै सबै वर्ग तथा क्षेत्रले अपनत्व महसुस गर्ने संविधान निर्माण गर्नुपर्नेमा जोड दिएको छ । दलहरुबीच भएको बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसँग भएका सहमति नै सहमतीय संविधान निर्माणको आधार भएको ठहर गर्दै मोर्चाले सरकारमा रहेका दललाई सोही आधारलाई आत्मसात् गर्न मोर्चाले अनुरोध गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी सचिव वर्षमान पुनले आजको बैठकमा शुक्रबारको जनसभालगायत मुलुकका विभिन्न स्थानमा भएका आन्दोलनको कार्यक्रमको समीक्षा भएको जानकारी दिनुभयो । मोर्चाले नेपाल सम्वत्का अवसरमा काठमाडौँमा चियापानको आयोजना गर्ने र विभिन्न जिल्लामा जिल्ला समन्वय समितिको आयोजनामा अन्तक्र्रिया र चियापानको आयोजना गरिने सचिव पुनको भनाइ छ । यस्तै पाँचथर, जनकपुर, कैलालीमा सचेतना सभाको आयोजना गरिनेछ । कार्यक्रमको मिति भने मोर्चाको सचिवालयले तय गर्ने बताइएको छ । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो दिनमा प्रमुख दलहरुबीच भएको वार्ता र सम्वादका क्रममा उठेका विभिन्न विषयका बारेमा जानकारी गराउनुभएको सचिव पुनले बताउनुभयो । आफूहरुको आन्दोलनले सरकारमा रहेका दललाई सहमतिका लागि बाध्य बनाउँदै लगेको उल्लेख गर्दै सचिव पुनले अझै पनि ठूला दलले नचेते संविधानसभाभित्र र बाहिर दुवै स्थानबाट प्रतिवाद गरिने जानकारी दिनुभयो ।