देवघाटमा स्नान गर्दागर्दै खोलाले बगायो आमा छोरालाई
तनहुँको देवघाट–२ स्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा आज स्नान गर्ने क्रममा नदीले बगाउँदा आमा छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भरतपुर नगरपालिका–३ बस्ने ३४ वर्षीय देवी कँडेल र उनका १३ वर्षीय छोरा सुशील रहेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक ईन्द्रराज रानाले बताउनुभयो । स्नान गर्ने क्रममा छोरालाई एक्कासी बगाएपछि निकाल्न गएकी आमालाई समेत नदीले बगाएको बताइएको छ ।