सरकारी आग्रह मान्दै अनसन तोडिन गंगामायाले, भनिन् न्याय नपाएसम्म अन्न खान्नँ झोलपदार्थ मात्रै
गत तीन सय साठी दिनदेखि आमरण अनशनरत गङ्गामाया अधिकारीले सरकार र मानवअधिकारवादीको आग्रहमा शनिबार राति आफ्नो आमरण अनशन तोड्नुभएको छ । आफ्ना छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही गरिपाऊँ भनी अधिकारी दम्पती वीर अस्पतालमा अनशन बसेकामा पति नन्दप्रसादको गत असोज ६ गते ३३४ औँ दिनमा निधन भएको थियो । कानुन, न्याय, संविधानसभा र संसदीय मामिलामन्त्री नरहरि आचार्यले गङ्गामायालाई हर्लिक्स खुवाएर अनशन तोडाउनुभएको हो । नन्दप्रसादको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छ ।
विशेष राहत दिइने
सरकार र गङ्गामाया पक्षबीच आजै पाँचबुँदे सहमति भएको छ । सहमतिअनुसार अदालतले पुर्जी काटेका हत्याका अभियुक्तलाई अदालतमा पेस गरिने र न्यायिक प्रक्रियालाई सरकारले सहज बनाउने, स्व नन्दप्रसादको दाहसंस्कार सरकारको उपस्थितिमा सम्मानपूर्वक गरिने, उहाँलाई विशेष राहत दिइने, उहाँको बसोबास र जीवनयापनको व्यवस्था गरिने तथा अधिकारी दम्पतीका छोरा नूरप्रसादको सुरक्षाको व्यवस्था गरिने छ । सो अवसरमा मन्त्री आचार्यले नन्दप्रसादलाई बचाउन नसकेकामा दुःख व्यक्त गर्दै सहमति कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गङ्गामायाले भने आफूले जीवनजल, हर्लिक्स र ग्लुकोज मात्र खाएर आन्दोलन जारी राख्ने जानकारी दिनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठक, सभासद् कमला पन्त तथा अधिकारकर्मी सुबोधराज प्याकु¥याल, चरण प्रसाईँ, ऋषिराम भण्डारीलगायतको पहलमा सो सम्झौता भएको हो ।