जनक शिक्षाका निकालिएका ज्यालादारी कर्मचारीको धर्ना
बिनाजानकारी निष्कासित अस्थायी, दैनिक र मासिक ज्यालादारी कर्मचारीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको मुख्य प्रवेशद्वारमा दिनभर धर्ना दिएका छन् । केन्द्र घाटामा गएको र तलब खुवाउन नसकेको भन्दै शनिबार अचानक सूचना टाँसेर केन्द्रले बाइस वर्षदेखि निरन्तर काम गरेका २३० कर्मचारी निष्कासन गरेको थियो । जनक शिक्षा कर्मचारी सङ्घका सचिव विनोद न्यौपानेले केन्द्रले कर्मचारी पाल्न सक्दैन भने अन्तिम पटकका लागि उमेरको हदबन्दी नलगाई स्थायीका लागि आन्तरिक वा खुल्ला प्रतिस्पर्धा गराएर परीक्षामा सहभागी हुने अवसर दिनुपर्ने माग गर्नुभयो । चाडबाडको बेलामा कर्मचारी निष्कासन गर्दा चाडसमेत बिथोलिएको बताउँदै धर्नामा बसेका कर्मचारीले केन्द्रमा भएको भ्रष्टाचार रोक्ने हो भने सबैलाई तलब खुवाउन पुग्ने बताएका छन् ।