पर्थमा मस्जिद र मदरसामा तोडफोड
पर्थमा दुईवटा मस्जिद र ईस्लामिक धर्म पढाई हुने मदरसामा तोडफोड भएको छ । साथै, तोडफोड गर्ने समूहले मस्जिदको बाहिरी भित्तामा प्रतिबन्ध ईस्लाम भन्ने नारा पनि लेखेका छन् । मुस्लिम सेख बुरहानले यस घटनाका विषयमा प्रतिक्रिया दिँदै भनेका छन् यी सामान्य घटना होलान् तर कतिसम्म सहने भन्ने मुख्य कुरा हो । यस्ता घटना सामान्य बन्दै गएका छन् जुन चिन्ताको विषय हो । यस्ता घटनाले यहाँ प्रार्थना गर्न आउने महिला र बालबालिकामा कस्तो असर पर्दछ भन्ने चिन्ता हामीलाई छ । उनीहरु मोटरसाईकलमा यहाँ आउँछन् र जे पनि हुनसक्छ भन्ने सन्देश उनीहरुको मनमा जान्छ । मुस्लिम विरुद्धको सोचमा विकास हुँदै जाँदा यो समूदाय पनि तरंगित हुन सक्दछ, तर, अहिलेसम्म अष्ट्रेलियन मुस्लिम समूदाय निकै नै संयमित छन् र रहनेछन् उनले प्रतिक्रिया दिँदै भनेका छन् । आउँदो शनिबार मस्जिद खुला राख्ने र यहाँ बार्बिक्युको आयोजना गर्दै सबै समूदायका व्यक्तिहरुलाई मुस्लिम समूदायसँग केही गुनासो भए र केही प्रश्न भए तिनको जवाफ दिने कार्यक्रम राखिने तय भएको छ । शायद यसरी नै हामी समाजमा हाम्रो बारेमा बनेको भ्रम चिर्न सक्दछौं उनले प्रतिक्रिया दिए ।