परराष्ट्रमन्त्री पाण्डेबाट मोदीलाई सार्कको निमन्त्रणा, आज अफगानिस्तान पुग्दै


modiपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को शिखर सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तोपत्र हस्तान्तरण गर्नुभएको छ । सार्कको १८ औँ शिखर सम्मेलन आगामी मङ्सिर १०–११ मा काठमाडौँमा हुँदैछ । प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणापत्र लिएर भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएका मन्त्री पाण्डेले सार्क शिखर सम्मेलनमा नेपालले गरेको तयारी तथा क्षेत्रीय सहकार्यका विषयमा भारतीय प्रधानमन्त्री मोदीलाई जानकारी गराउनुभएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ । निमन्त्रणा ग्रहणपछि भारतीय प्रधानमन्त्री मोदीले सबै सार्क सदस्यलाई सुदृढ गरी सार्कलाई अमूल्य संस्थाका रुपमा निर्माण गर्नुपर्ने बताउनुभयो ।सो अवसरमा सार्कअन्तर्गतका छिमेकीलाई तथा क्षेत्रीय सहकार्यमा प्रधानमन्त्री मोदीले प्राथमिकता दिएकामा परराष्ट्रमन्त्री पाण्डेले प्रशंसा गर्दै भारतले मङ्गलयानको उडान गरेकामा बधाई दिनुभयो । सोही अवसरमा परराष्ट्रमन्त्री पाण्डेले आफ्ना समकक्षी सुष्मा स्वराजसँग गरेको भेटवार्तामा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका अवसरमा भएको नेपाल–भारतको संयुक्त आयोगले गरेका निर्णय कार्यान्वयनलगायत द्विपक्षीय तथा क्षेत्रीय सहकार्यका विषयमा छलफल गर्नुभयो । परराष्ट्रमन्त्री पाण्डेले आगामी मङ्सिरमा हुने सार्क मन्त्रिपरिषद्को ३६ औं मन्त्रिस्तरीय बैठकमा भाग लिन विदेशमन्त्री स्वराजलाई निम्तोसमेत दिनुभयो । मन्त्री पाण्डे बुधबार बिहान अफगानिस्तानको राजधानी काबुल पुग्ने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?