एन्फा र पर्यटन बोर्डजस्तै भ्रष्टाचार भएका निकायलाई कारवाही गर्ने जनार्दन शर्माको भनाई
सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले सार्वजनिक निकायमा देखिएका भ्रष्टाचार र अनिमितताको छानबिनमा समितिले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । समितिको सचिवालयमा आज पत्रकारहरूसँगको छलफलमा उहाँले धेरै सुधार गर्न सकिने बताउँदै त्यसको केही सुरुवात भइसकेको धारणा राख्नुभयो । अखिल नेपाल फुटवल सङ्घ (एन्फा)मा भएको भ्रष्टाचार, पर्यटन प्रवद्र्धन बोर्डमा भएको अनियमितताबारे निर्णय प्रक्रियामा पुगिसकिएको र चमेलियामा जलविद्युत आयातको छानबिन जारी रहेको बताउनुभयो । उहाँले यी निर्णय गर्दा समितिअन्तर्गतका सभासद्हरूले देखाएको ऐक्यबद्धताले सभासदहरू अनियमितताको विरुद्धमा एकमत छन् भन्ने सन्देश प्रवाह भएको भनाइ राख्नुभयो । उहाँले आफू अनियमितता विरुद्ध केही गर्छु भनेर नै समितिमा आएको बताउँदै त्यसमा विचलित नहुने दृढता व्यक्त गर्नुभयो । उहाँले समितिले निर्णय गर्ने मात्रै नभई निर्णय कार्यान्वयन गराएरै छाड्न दृढ रहेको पनि जिकिर गर्नुभयो ।