तिहारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिबाट देशवासीका नाममा शुभकामना व्यक्त
राष्ट्रपति डा रामबरण यादवले संविधानसभाबाट तोकिएको समयमा संविधान प्राप्त भई देशको सार्वभौमिकता, अक्षुणता र स्वतन्त्रता कायम राख्न सफल हुने विश्वास विश्वास व्यक्त गर्नुभएको छ । महान् चाड दीपावली तथा तिहारको पावन अवसरमा राष्ट्रपति डा यादवले दिनुभएको सन्देशमा भनिएको छ–‘संविधानसभाबाट तोकिएको समयमा संविधान प्राप्त होस् । देशको सार्वभौमिकता, अक्षुणता र स्वतन्त्रता कायम रहोस् । राष्ट्र र राष्ट«ियताप्रति सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग प्रदान गरुन् यही मेरो शुभकामना छ ।’ सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दै उहाँले अन्धकार हटाई उज्यालो ल्याउने विशेष चाडको रूपमा मनाइने शुभ दीपावली तथा तिहार पर्वले नेपालीको आर्थिक समृद्धि र आपसी भातृत्व तथा सामाजिक सद्भाव एवम् एकता कायम भई समाजमा शान्ति, स्थायित्व र प्रगति हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै, उपराष्ट्रपति परमानन्द झाले हिन्दू धर्मावलम्बीको महान् पर्व शुभ दीपावलीका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले दिनुभएको सन्देशमा राष्ट्रिय आवश्यकता र आम नेपालीको चाहनाको प्राथमिकतामा संविधान नै बहुप्रतिक्षित विषय भएको उल्लेख गर्दै जनचाहना बमोजिमको लोकतान्त्रिक संविधानको निर्माणबाट नै नेपालमा जनप्रतिनिधिकमूलक लोकतान्त्रिक परिपाटी बलियो एवम् स्थायी हुन सक्दछ भन्ने कुनै द्विविधा नभएकाले त्यसका लागि राजनीतिक दलहरूबीच सहमति र सहकार्यको विकल्प नभएको बताउनुभएको छ । उपराष्ट्रपति झाले देशको जनचाहनाअनुरूपको लोकतान्त्रिक संविधान प्राप्त गर्दै स्थिरता र समृद्धिको मार्गमा अघि बढ्न सकोस् र नेपालीहरूमा सुख, शान्ति र समृद्धि प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।