क्यानडा संसदमा गरिएको आक्रमणबाट विचलित नहुने प्रधानमन्त्री स्टिफन हार्परको भनाई
क्यानडाका प्रधानमन्त्री स्टिफिन हार्परले धर्म परिवर्तन गरी इस्लामी भएका एक व्यक्तिले संसदमा प्रवेश गरी एक सैनिकको हत्या गर्ने कार्यले आफ्नो मुलुक प्रभावित नहुने दृढता व्यक्त गर्नुभएको छ । उक्त घटना यस मुलुकमा केही दिनबीच भएको दोस्रो आतङ्कवादी आक्रमण भएको बताइएको छ । उक्त बन्दुकधारी यस मुलुकमा आतङ्वादीको सूचीमा रहेको, निजले बुधबार क्यानडाको संसदमा प्रवेश गर्न खोजेको तथा निजलाई एक संसदको एक सैनिकले गोली हानी मारेको बताइएको छ । क्यानडाका सैनिक कर्मचारीमाथि एकै सातामा भएको यो दोस्रो आक्रमण हो । यसबीच क्यानडाले इराकमा इस्लामी लडाकूविरुद्ध अमेरिकी नेतृत्वमा बम आक्रमणमा आफ्नो जेट विमान पनि संलग्न हुने निर्णय गरेको छ । उहाँले यस कार्यले चुनौती पहिचान गर्ने र क्यानडालाई सुरक्षित बनाउन सबै प्रकारका आवश्यक पाइला लिने आफ्नो तथा राष्ट्रिय सुरक्षा निकायको दृढतालाई बलियो बनाउने प्रयासलाई दोब्बर बनाउने बताउनुभयो । यस आक्रमणको दुई दिन अगाडि एक इस्लामीले दुई सैनिकमाथि आक्रमण गरी एकको हत्या गरेका थिए । त्यसलाई अधिकारीले आतङ्कवादी आक्रमणको रूपमा लिएका थिए । संसदमा आक्रमण गर्ने र पछि इस्लाम धर्म लिएका माइकल जेहाफ–बिबु पहिले पनि लागुपदार्थ तथा डकैतीको घटनामा दोषी फेला परेका थिए । जेहाफ–बिबुलाई उच्च जोखिम भएको आशङ्कित व्यक्तिको रूपमा लिइएको र विदेशमा जिहादमा संलग्न हुन नदिन निजको राहदानी जफत गरिएको बताइएको छ । निजले मारेका सैनिक ओटावाको पार्लियामेन्ट हिलको युद्धस्मारक रक्षक थिए । यसपछि उनी संसदीय भवनतर्फ बढेका थिए । मारिएका सैनिकको नाम कर्पोरल नाथन चिरल रहेको बताइएको छ र यस घटनामा तीन व्यक्तिलाई सामान्य चोट लागी अस्पताल लगिएको छ । जेहाफ बिबुलाई हाउस अफ कमन्सका सैनिक केभिन भिकर्सले मारेका थिए ।