दुई तिहाई कसैको नभएकोले सम्झौताको, सहमतिको संविधान बन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले च्याउ उम्रे झै राज्य उम्रिए देशले धान्न नसक्ने बताउनुभएको छ । एमाले जिल्ला कमिटी भक्तपुरले ठिमीको बालकुमारीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बहुप्रदेशले देशलाई कङ्गाल बनाउने बताउनुभयो । पहिचानसहितको प्रदेशको मागबारे टिप्पणी गर्दै उहाँले भन्नुभयो –‘पहिचानको माग गरिएको छ, पहिचान भनेको आफैंले बनाउने हो, काम गरे पहिचान बन्छ, नबने बन्दैन, शङ्खधर साख्वाःले काम गरेकै भएर उनको पहिचान देशव्यापी छ ।’ संविधानसभामा एकतिहाइ भन्दा बढी कसैको नभएको र संविधान जारी गर्न दुई तिहाइ नै चाहिने भएकाले विरोधबाट नभई सहमतिबाटै माघ ८ गतेभित्र संविधान जारी हुने दावी उहाँले गर्नुभयो । कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले अर्थमन्त्री सकारात्मक भए देशको बेरोजगार युवालाई रोजगारी दिनसकिने बताउनुभयो । उद्योग मन्त्रालयसँग बजेट नभएकाले अर्थ मन्त्रालयले बजेट दिए हरेक वर्ष ५० हजार युवालाई रोजगार दिने कार्यक्रम उद्योग मन्त्रालयले ल्याउने उहाँको भनाइ थियो । कार्यक्रममा अध्यक्ष ओली र मन्त्री बस्नेतले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।