दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु (अपडेट)


rasuwaकाठमाडौँबाट रसुवा जान लागेको बस नुवाकोटको बेलकोटमा दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । गम्भीर घाइतेको सङ्ख्या बढिरहेको र सम्पर्कमा आउने क्रम जारी रहेकाले मृतकहरूको सङ्ख्या बढ्ने क्रममा रहेको नुवाकोट प्रहरीले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा अधिकांश महिला रहेका छन् । घटनालगत्तै यात्रु र स्थानीयले उद्धार गरी मृतक तथा बिरामीलाई अस्पतालतर्फ लगेकाले पहिचानमा समस्या भएको नुवाकोटका प्रहरी नायब उपरीक्षक अरूण पौडेलले बताउनुभयो । ज्यान गुमाउनेमा दुईजना इजरायली र एकजना स्पेनका नागरिक रहेका छन् । दुर्घटनामा परी ३३ जनाभन्दा बढी घाइते भएका छन् । घाइते भएका अधिकांशको अवस्था गम्भीर रहेको छ । घाइते भएकामध्ये त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एक जना, जनमैत्री अस्पतालमा तीनजना, ग्रिनसिटी अस्पतालमा १७ जना, न्युरो अस्पतालमा चार जना र मेगा अस्पतालमा तीन जनाको उपचार भइरहेको छ । नुवाकोटको जिल्ला अस्पताल त्रिशूली, पञ्चकन्या सामुदायिक अस्पताल बट्टारलगायतमा पनि घाइतेहरूको उपचार भइरहेको छ । घाइते भएर उपचार गराउनेको सङ्ख्या ३३ जनाभन्दा बढी रहेको र सम्पर्कमा आउनेक्रम जारी रहेकाले बढ्नसक्ने प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण सा“घुरो बाटोमा क्षमताभन्दा बढी यात्रु भएको हुनसक्ने नुवाकोट प्रहरीले जनाएको छ । दुर्घटनापछि बसको पाङ्ग्रामाथि र अगाडिको भाग सडकतिर फर्केको अवस्था यात्रु र स्थानीयवासीको सहयोगमा सेना र प्रहरीले उद्धार गरेको हो । बसभित्र र छतमा गरी ६५ जनाभन्दा बढी यात्रु रहेको सहचालक प्रवीण गिरीले बताउनुभयो । उनका अनुसार दुर्घटनामा बसले ठाडो भिरमा तीन बल्ड्याङ खेल्न पुगेको थियो । गाडीको गति सामान्य भए पनि क्षमताभन्दा बढी यात्रु र पुराना गाडी हुँदा सा“घुरो सडकको घुम्तिमा इञ्जिनले काम नगरेको सहचालक पुरीले बताउनुभयो । दुर्घटनाको समयमा बसको इञ्जिनबाट आवाज निस्केको, बस केही समय हल्लिएर अकस्मात दुर्घटना भएको घाइतेहरूले बताएका छन् । दुर्घटनामा परी बसका चालक नुवाकोट बेलकोटका दीपक तामाङको खुट्टा भाँचिएको छ भने गाडी धनी नुवाकोट गेर्खुका कवीन्द्र श्रेष्ठको शरीरमा विभिन्न अङ्गमा चोट लागेको अवस्थामा काठमाडौँमा उपचार भइरहेको छ । काठमाडौँबाट रसुवाको सदरमुकाम धुञ्चे जान लागेको बा२ख २२६६ नम्बरको बस पासाङल्हामु मार्गअन्तर्गत नुवाकोटको बेलकोट गाविस–५ आरुबोटेभिर भन्ने स्थानमा दुर्घटना भएको हो । सडकबाट एक सय मिटर तल पुगेको बस भिरमा अड्किएको हुँदा उद्धार कार्यमा ढिलाइ भएको थियो । दुर्घटनापछि बसभित्र यात्रुहरू चिच्याइरहे पनि उद्धारमा परिचालित नेपाली सेना, नेपाल प्रहरी स्थानीयवासीलाई छ घन्टाभन्दा बढी लागेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?