प्रधानमन्त्री, पूर्वराजा र नेताहरुले सर्वसाधारणसँगै लगाए तिहारको टिका


यमपञ्चकको अन्तिम दिन भाईटिका नेपालभर र विदेशमा रहेका नेपालीहरुले पनि धुमधामपूर्वक मनाएका छन् । विश्वका अन्य देशहरुजस्तै अष्ट्रेलियामा रहेका नेपालीहरुले पनि आफ्ना दिदीबहिनीको हातबाट टिका लगाई चिरायुको आशिर्वाद प्राप्त गरेका छन् । यसैक्रममा प्रधानमन्त्री सुशील कोइरालाले आज बिहान ११ः३५ बजेको शुभसाइतमा ८१ वर्षीया दिदी आभादेवी शर्माबाट टीका थापेर आशीर्वाद लिनुभयो । प्रधानमन्त्रीले दिदीलाई सौभाग्य सामग्री र दक्षिणा प्रदान गरेर आशीर्वाद लिनुभयो भने उहाँले भाइलाई कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृ वात्सल्य प्रस्तुत गर्नुभयो । यसैगरी, सोही साइतमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले ललितपुरको भैंसेपाटीस्थित आफ्नै निवासमा माया केसी सहितका पाँचैजना दिदी बहिनीबाट टीका लगाउनुभयो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बोहोराटारस्थित आफ्नो आवासमा जेठी बहिनी कृष्णकुमारी आचार्यबाट ११ः३५ बजेको शुभसाइतमा टीका लगाएर आशीर्वाद लिनुभयो । त्यस्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस केन्द्रीय सदस्य मीना पाण्डेबाट टीका लगाउनुभयो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुपन्डोलस्थित माइली बहिनी इन्दिरा न्यौपानेको घरमा दिदी कालिका भण्डारी र बहिनी वसुधा पोखरेलबाट टीका लगाउनुभयो । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले सानेपा पुगेर बहिनी मीनु कार्कीबाट टीका लगाउनुभयो । यस्तै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि आफ्नी दिदी थिरकुमारी पराजली र बहिनी पार्वती भट्टराईको हातबाट टिका लगाउनुभएको छ । यसैबीच, भाइटीकाको उपलक्ष्यमा पूर्व राजपरिवारका सदस्यहरूले आज १२ बजेर ०३ मिनेटको शुभसाइतमा टीका लगाउनुभयो । पूर्व मुमा बडामहारानी रत्न शाहले नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा भाइ सुशीलशमशेर राणालाई टीका लगाइदिनुभयो । त्यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीसँग कमलादीस्थित शोभागृहमा सोही साइतमा टीका लगाउनुभएको शाहका संवाद सचिव फणिराज पाठकले बताउनुभयो । पूर्व रानी कोमल शाहले निर्मल निवासमा भाइहरू सुरज र उदयशमशेर राणालाई टीका लगाइदिनुभएको जानकारी पनि पाठकले दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?