सरकारी सेवामा जाने उत्साह घट्यो चीनमा, कारण भ्रष्टाचार विरुद्धको कारवाही


chinaचीनमा निकै लोकप्रिय भएको सरकारी सेवाको परीक्षामा यस वर्ष थोरै निवेदन परेका छन् भने विशेषज्ञहरूले हाल यस मुलुकमा भ्रष्टाचारमाथि निरन्तर कारबाही भएको कारण यस्तो अवस्था देखिएका बताएको चाइना डेलीले शनिबार उल्लेख गरेको छ । सन् २०१५ मा लिइने परीक्षाका लागि १० लाख ६० हजार निवेदकले शुक्रबारसम्म निवेदन दिएका छन् । अघिल्लो वर्ष यस्ता निवेदनकको सङ्ख्या १५ लाख २० हजार देखिएको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता ली झोङले यस वर्ष निवेदकको सङ्ख्या कम भएको र अन्तिम सङ्ख्या आइतबार मात्र थाहा हुने बताए भनी समाचारमा उल्लेख गरिएको छ । यस वर्ष सरकारले २२ हजार २०० रिक्त स्थानका लागि निवेदन माग गरेको छ । स्थिर नोकरी, निवृत्तिभरण जस्ता राम्रो योजना, आय तथा उच्च सामाजिक स्तरका कारण चीनमा सरकारी नोकरीलाई राम्रो पदको रूपमा लिइन्छ । सरकारी तथ्याङ्कमा गत वर्ष सरकारी एक पदका लागि औसतमा ५७ उम्मेदवारले प्रतिस्पर्धा गरेको देखिएको छ । सन् २००३ मा यो सङ्ख्या १६ रहेको थियो । सुविधा तथा इज्जतका कारण उम्मेदवारहरू यस सेवामा आकर्षित भए पनि वास्तविकता निकै भिन्न भएको सान्सी एकेडेमी अफ सोसियल साइन्सका अनुसन्धानकर्ता झाङ यानले बताउनुभयो । सन् २०१२ मा वर्तमान नेतृत्व आएपछि कर्मचारीतन्त्र तथा अनावश्यक खर्च कटौती हुने अभियान सञ्चालन भएपछि अधिकारीलाई मितव्ययी हुन लगाइएको र उल्लङ्घन गरे कडा कारबाही भइरहेको देखिएको छ । कर्मचारीतन्त्र कटौती गर्ने उपायका कारण केही शक्तिशाली विभागमा पनि अनिश्चितता देखिएको पेकिङ विश्वविद्यालयका प्राध्यापक यान जिरोङले बताउनुभयो । झाङ यानले सरकारी सेवा सजिलो नोकरी भएको धारणा परित्याग गर्नुपर्ने र जनतालाई सेवा दिने चाहना देखाउनु पर्ने समय आएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?