तराईवासीको महान पर्व छठ भोलिबाट सुरु, पहिलो दिन शरीर शुद्धि


chat1तिहार पर्वको समापनसँगै छठ पर्वको तयारी उत्साहका साथ सुरु भइसकेको छ । छठ पर्व मनाउनेहरू पोखरीका डिल र नदीको किनारको सरसफाइ गर्दै आ–आफ्ना पूजास्थल सुरक्षित गर्नमा तल्लिन भएर जुटेका छन् । यसका साथै पर्वमा आवश्यक पर्ने सरसामानको किनमेलका साथै नयाँ माटाका भाँडाकुँडा र बाँसको टोकरीको खरिदारीमा सक्रिय छन् । भगवान् सूर्यको पूजा आराधना गर्ने यो पर्व विधिवत्रूपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात् भोलिदेखि सुरु हुने भएको छ । अत्यन्त निष्ठा एवम् पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान् सूर्यको पूजा गर्ने व्रतालुले कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात् भोलि सोमबार शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रूपमा स्नान गरी अरूवा अरूवाइन खाने गर्छन् । पञ्चमी तिथिमा दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुलोमा खिर पकाएर पूजा गरी प्रसादका रूपमा व्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई प्रसादका रूपमा वितरण गर्ने गरिन्छ । यस विधिलाई ‘खरना’ भन्ने गरिन्छ । त्यसपछि, सप्तमी तिथिमा पोखरीको डिल, नदीको किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ अपर्ण गरिन्छ र भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ अपर्ण गरेपछि विधिवत् रूपमा पर्व सम्पन्न हुन्छ । भगवान् सूर्यलाई अर्घ अपर्ण गर्ने व्रतालुलाई पञ्चमी तिथिका दिनभर उपवासमा बसेर साँझ मात्र प्रसाद ग्रहण गरेर पुनः सुरु भएको उपवास सप्तमी तिथिको बिहानसम्म अर्थात् कम्तीमा ५० घन्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । यस पर्वमा भगवान् सूर्यलाई प्रसादका रूपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायतका प्रसादका सामग्री नयाँ माटोको भाँडो र बाँसको टोकरीमा राखेर सूर्यदेवलाई अपर्ण गरिन्छ । यो एकपल्ट सुरु गरेपछि प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ । खासगरी मनोकामना पूर्ण भएपछि यो पर्व सुरु गर्ने गरिन्छ । ‘आरोग्य भास्करदिच्छेत’ मूल उद्देश्यका साथ मनाइने गरिएको यस पर्वमा कतिपय व्रतालुले परिवारको कल्याण, सन्तान प्राप्तिका साथै विभिन्न प्रकारका राखेका मनोकामना पूरा भएपछि सुरु गरेका हुन् । यो पर्वका व्रतालु महिला वा पुरुष हुन सकिन्छ । पर्र्व मनाउने परिवारका कुनै व्यक्ति उपवासमा बस्न नसक्ने अवस्थामा छन् भने जोकोही व्रतालुले तिनीहरूको प्रसाद लिएर सूर्यलाई अर्पण गर्न सकिनेसमेत सुविधा रहेको छ । धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएको छ, “सौँनक ऋषिले सुतजीसमक्ष पृथ्वीमा थुप्रै मानिस रोगले ग्रस्त, कतिपयलाई सन्तान छैन यस्ता व्यक्तिको कल्याणका लागि कुनै उपाय छ कि छैन भनेर जिज्ञासा राख्नुभयो । सो अवसरमा, उहाँले प्राचीनकालमा एक दुष्ट क्षेत्रीय राजा यक्षमा रोगबाट पीडित थिए । एक ब्राह्मणको सल्लाहमा उहाँले सूर्यदेवको विधिवत् नियमानुसार चार दिनसम्म विधिवत् रूपमा छठ पर्वका रूपमा पूजापाठ गरेपछि सो रोगबाट मुक्ति पाउनुभयो । त्यसपछि, यो पर्वले विधिवत्रूपामा सुरु भएको विश्वास गरिन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?