सिंगापुरलाई १ सय ९० रनको अन्तरले पराजित गर्दै नेपाल डिभिजन थ्री क्रिकेटको समूह चरणको दोस्रो स्थानमा, सोमबार अमेरिकासँग भिडन्त
मलेसियामा जारी आइसिसी वल्र्ड लिग क्रिकेट डिभिजन थ्री प्रतियोगिताअन्तर्गत भएको तेस्रो खेलमा नेपालले सिङ्गापुरलाई १९० रनको फराकिलो अन्तरले पराजित गरेको छ । मलेसियास्थित वायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले सिङ्गापुरमाथि शानदार जित हात पार्दै प्रतियोगितामा दोस्रो जितसमेत दर्ता गरायो । यसअघि भएको दोस्रो खेलमा नेपालले बर्मुडालाई ८ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा नेपाल युगान्डासँग २० रनले पराजित भएको थियो । नेपालले पूरै ५० ओभर खेल्दा ९ विकेट गुमाई २६३ रन जोड्यो । दुई सय ६४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सिङ्गापुर २१ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ७३ रनमा समेटियो । प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरेको नेपालको खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट पारी खेल्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो शतक पूरा गरे । एक सय २५ बल खेलेका मल्ल १३ चौका र एक छक्काको सहयोगमा ११४ रन बटुल्न सफल भएका हुन् । ओपनर सुवास खकुरेल शून्य रनमा पेभिलियन फर्कंदा अर्का ओपनर नरेश बुढाऐरले २९ रन बनाउँदै क्याच आउट भए । त्यस्तै, कप्तान पारस खड्काले १४ रन बनाउँदा शरद भेषवाकरले २५ रन बटुल्न सफल भएका थिए । सो¥ह बलको सामना गर्दै २१ रन जोडेका वसन्त रेग्मी क्याच आउट भए भने विनोद भण्डारी ८, सोमपाल कामी ६ र शक्ति गौचनले ५ रन जोडे । सागर पुन २१ र अमृत भट्टराई ६ रनमा अविजित रहे । सिङ्गापुरलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि सोमपाल कामी र वसन्त रेग्मीले समान चार÷चार विकेट लिए भने अमृत भट्टराईले २ विकेट हात पारे । भोलि आफ्नो चौथो खेलमा नेपालले संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।