भारतको असममा सडक दुर्घटना, नौको मृत्यु
उत्तरपूर्वी भारतीय राज्य आसाममा आइतबार भएको एक सडक दुर्घटना नौ व्यक्तिको मृत्यु भएको समाचार छ । उच्च गतिमा रहेको सो बस दुर्घटनामा अन्य २६ जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । लाखीम्पुर जिल्लामा यात्रा गरिरहेको सो बस चालकले नियन्त्रण गुमाउँदा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।सो दुर्घटना स्थानीय समयानुसार आइतबार बिहान ४ बजे भएको र सो बसमा ३७ व्यक्तिले यात्रा गरिरहेका बताइएको छ । यस दुर्घटनामा घाइते भएका १८ जना अझै अस्पतालमा उपचार गराईरहेका छन् । केही व्यक्ति प्राथमिक उपचारपछि घर फर्किएका पनि समाचारमा जनाइएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएर उपचारार्थ अस्पताल भर्ना भएका केही व्यक्तिको अवस्था चिन्ताजनक रहेको छ ।