लाइबेरियामा इबोलाको प्रकोप घटेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदन, खतरा भने कायमै
इबोला प्रकोपको सङ्क्रमण सुरुवात भएको पश्चिम अफ्रिकी देश लाइबेरियामा यसको प्रकोप कम भएको पाइएको छ । विश्व स्वास्य संगठनले दिएको जानकारीअनुसार हालैका दिनमा त्यहाँ गरिएको निगरानीको निकै कडा कदमका कारण त्यहाँ पछिल्लो समयमा यसको प्रकोपमा कमी आएको हो । प्रकोपमा कमी आएको पाइएको बताउँदै तर पनि यसको खतरा भने कायमै रहेको विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले जनाएका छन् । उक्त संस्थाका अनुसार सुरुवातका दिनहरूका तुलनामा पछिल्लो समयमा यसको प्रकोप घटेको तर यसको खतराबाट नागरिकले उन्मुक्ति पाएको भने होइन । विश्व स्वास्थ्य संगठनका उपमहानिर्देशक ब्रस आइलवार्डले सो विषयमा जानकारी दिएका छन् । उनले यसलाई सकारात्मक प्रगतिका रुपमा हेरिनुपर्ने धारणा पनि राखेका छन् । उनले भनेका छन्– महामारीका रुपमा लाइबेरियामा फैलिएको यसको प्रकोपमा पछिल्लो समयमा केही कमी आएको छ । तर यो नियन्त्रणको अवस्थामा पनि आएको छैन । उनले भनेका छन्– यसैलाई नागरिकले इबोला नियन्त्रण भयो भन्ने सूचनाका रुपमा नलिउन् । उपमहानिर्देशक ब्रसले भने– यो यदि नियन्त्रण नै भएको भएपनि नियन्त्रणभित्र रहेको बाघको बच्चाजस्तै हो कुनैदिन फेरि फैलिइहाल्छ ।
मृत्यु हुने करिब पाँच हजार
यसैबीच विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको एक तथ्याङ्कअनुसार इबोलाको सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या चार हजार ९२२ पुगेको जनाइएको छ । इबोला भाइरसले गत हप्तासम्ममा विश्वका चार हजार ९२२ नागरिकको ज्यान लिइसकेको छ । यसले विशेषगरी पश्चिमी अफ्रिकी देशहरूमा ठूलो महामारीको रुप लिइरहेको छ । यो सङ्क्रमण अमेरिका, युरोप तथा विश्वका कतिपय स्थानमा देखिइसकेको छ । यसबाट सबैभन्दा बढी पीडित अफ्रिकी देशहरू नै रहेका छन् । विश्व स्वास्थ्य संगठनले आगामी केही समय यसको फैलावट झनै खतरनाक हुँदैजाने भन्दै यसको आतङ्क रोक्नका लागि विश्व समुदायसँग आग्रह गरेको छ । सो सङ्क्रमणबाट सङ्क्रमित व्यक्तिको सङ्ख्या १३ हजार ७०३ पुगेको पनि समाचारमा जनाइएको छ । प्राप्त समाचारमा तीमध्ये अधिकांश अहिले पनि उपाचारकै क्रममा रहेका बताइएको छ ।