भारतमा कसैले खुला स्थानमा दिसा गरेको देखे बालबालिकाले सिठी बजाउने
भारतको मध्यप्रदेशमा कसैले खुलास्थानमा दिसा गरेको देखिए त्यस्ता व्यक्तिलाई लाजलाग्ने बनाउन छिटै बालबालिकालाई सिठी दिएर गाउँमा गस्ती गर्न पठाइने भएको समाचार आइतबार प्राप्त भएको छ । मध्यप्रदेशको सरकारले सरसफाइका लागि अनौठो प्रयास छिटै आरम्भ गर्ने भएको छ । यस कार्यक्रममा स्कुले बालबालिकालाई उनीहरूले कसैले शौचालय प्रयोग नगरी खुला स्थानमा दिसापिसाप गरेको फेला पारे सिठी बजाउन लगाइनेछ । भारतमा खुलास्थानमा दिसापिसाप गर्नु स्वास्थ्य तथा सरसफाइका लागि प्रमुख समस्याको रूपमा लिइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो चार वर्षमा प्रत्येक घरमा शौचालय निर्माण गरिने जानकारी दिनुभएको छ । मध्यप्रदेशका अधिकारीहरूले मानिसहरू शौचालय प्रयोग गर्नुको सट्टा खुलास्थानमा दिसापिसाप गर्न मनपराउने भएको बताएका छन् । यस्तो बानीले रोग फैलाउने भएकाले यसलाई रोक्न अनौठो प्रयास गरिने पनि उनीहरूले जानकारी दिएका छन् । इन्दौर क्षेत्रको प्रादेशिक आयुक्त सञ्जय दुबेले पक्का शौचालय बनाउनु मात्र प्रर्याप्त नभएको र ग्रामीण क्षेत्रमा खुलास्थानमा दिसापिसाप गर्ने बानी रोक्नुपनि आवश्यक भएको पीटीआईलाई बताउनुभयो । उहाँले यस्तो कार्य रोक्न प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्नु आवश्यक भएको बताउनुभयो । उहाँले यी बालबालिकालाई आफ्नावरपरका स्थान सफा राख्नुपर्ने विषयमा शिक्षा दिएर छिमेकमा घुम्नका लागि सिठी उपलब्ध गराइने जानकारी दिनुभयो । उहाँले यस्तो सिठीले खुला स्थानमा दिसापिसाप गर्ने व्यक्तिलाई लाजलाग्ने अवस्था बनाउने र यस्तो कार्य रोक्न सहयोग गर्ने बताउनुभयो । भारत कमजोर सार्वजनिक स्वास्थ्य तथा सफाइका लागि परिचित छ र प्रधानमन्त्री मोदीले भारतलाई सफा राख्नुपर्ने आवश्यकताका बारेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्र सङ्घको बाल कोष युनिसेफले भारतका करिब ५९ करोड ४० लाख अर्थात करिब ५० प्रतिशत जनताले खुलास्थानमा दिसापिसाप गर्ने अनुमान गरेको छ । यसका साथमा करिब ३० करोड महिला तथा बालिकालाई रातीको समयमा खुलास्थानमा दिसापिसाप गर्न बाध्य बनाइन्छ र यस अवधिमा उनीहरूमाथि दुव्र्यवहार हुनेगरेको बताइन्छ । मे महिनामा १२ र १४ वर्षकी दुई बालिका यसरी बाहिर निस्कदा उनीहरूमाथि आक्रमण भएको र उनीहरूलाई मारेर झुण्ड्याउनुअगाडि उनीहरूमाथि सामूहिक बलात्कार भएको देखिएको छ ।