देउसी भैलोबाट मात्रै झापाली समाजले उठायो १० हजार डलरभन्दा बढी
सिड्नीमा तिहारको अवसरमा देउसी भैलो कार्यक्रम सञ्चालन गरेको झापाली समाज अष्ट्रेलियाले १० हजार डलरभन्दा बढी संकलन गरेको जनाएको छ । सांस्कृतिक जागरण र जगेर्नाका निम्ति समाजले विभिन्न ठाउँमा नेपालीको घरमा देउसी भैलो सञ्चालन गरेको थियो । कार्यक्रमका संयोजक भूपेन्द्र चुडालका अनुसार झापाली समाजले निर्माण गर्न लागेको बृहद कोषमा यसलाई जम्मा गरिनेछ । झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले देउसी भैलो कार्यक्रममा बोल्दै विभिन्न जिल्लाबाट अष्ट्रेलिया आई काम गर्ने समाजहरुभित्रको एकता र समाज समाजबीचको एकताले सबैलाई अघि बढ्न प्रेरणा दिने बताउनुभयो । देउसी कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं सभाषद् केशव बुढाथोकीले नेपाली नेपालीबीचको एकता देखेर खुशी लागेको बताउनुभयो । सिड्नीमा आएर पनि देउसी भैलो खेल्न पाउनु आफ्ना निम्ति नौलो अनुभव भएको उहाँको धारणा थियो । यस्तै नेपालका पुराना राजनीतिकर्मी प्रेमप्रकाश ओलीले पनि नयाँ पुस्तामा नेपाली संस्कृति हस्तान्तरण हुँदै गरेको देख्न पाउनु खुशीको कुरा भएको बताउनुभयो । देउसी भैलो कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सन्तोष सिटौला, समाजका अगुवा भवानी ओली, दिपक खनाल लगायत सहभागी हुनुभएको थियो । विभिन्न अवसरमा संकलन गरी अक्षयकोषमा राखिएको रकमले झापाका विभिन्न क्षेत्रहरुमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने र परोपकारी कार्यमा सहयोग गर्ने झापाली समाजले जनाएको छ । यसैगरी देउसी भैलोको अवसरमा अन्य विभिन्न संघ संस्थाले पनि उठाएको रकमबाट सामाजिक क्रियाकलाप गर्ने जनाएका छन्।