वैज्ञानिकले स्वभाविक रूपमा एचआईभी निको हुने संयन्त्र पत्ता लगाए
फ्रान्सेली बैज्ञानिकहरूले मङ्गलबार एचआईभी रोग स्वाभाविक रूपमा निको हुने आनुवांशिक संयन्त्र पत्ता लगाएको र यसको आधारमा दुई पुरुषमा यो रोग निको बनाइएको दाबी गरेका छन् । उनीहरूको खोजले एङ्स रोग निको पार्न नयाँ रणनीति तयार गर्न सकिने दाबी गरिएको छ । क्लिनिकल माइक्रोबायोलोजी एण्ड इन्फेक्सन नामक पत्रिकामा यी बैज्ञानिकहरूले लेखेको अनुसन्धानपत्रमा एचआईभीको परिवर्तन गरिएको आनुवांशिक कोड मानव शरीरमा एकीकृति गरिएपछि एड्स रोग लगाउने विषाणुलाई निस्क्रिय बनाउन सकिने उल्लेख गरिएको छ । यी दुई पुरुषमा एचआईभी भएको र त्यसलाई निस्क्रिय बनाइएको जानकारी दिइएको छ । इन्जाइमलाई अभिप्रेरित गरिएपछि यस प्रकारको अवस्था देखिएको र यस्तै अवस्था प्राप्त हुने उपचारको रणनीति तयार गर्न सकिने उनीहरूले बताएका छन् । यस अध्ययनका सहलेखक फ्रेन्च इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल रिसर्चका डिडियर राउल्टलेले यस अनुसन्धानले एड्सको उपचारको क्षेत्र फेला पारेको बताउनुभयो । तीस वर्ष अगाडि र सन् २०११ मा एचआईभी पोजिटिभ देखिएका यी दुबै पुरुषमा हाल एड्स रोग गराउने विषाणु देख्न नसकिने बताइएको छ । यी दुबै बिरामीमा डीएनए कोडिङमा परिवर्तन गरिएपछि एड्सका विषाणु विस्तार हुन नपाएको बताइएको छ । यसरी मानव तथा विषाणुबीच स्वभाविक रूपमा विकास हुने यस नतिजालाई ‘‘इन्डोजेनाइजेसन’’ भनिएको छ ।