दुई तिहाईको मतबाट पेलेर संविधान नबनाउने सुशील कोइरालाको घोषणा, सहमतिमै संविधान जारी गरिने
प्रधानमन्त्री सुशील कोइरालाले सबैलाई समेटेर नै संविधान जारी गरिने बताउनुभएको छ । प्रजातन्त्र सेनानी श्यामकृष्ण प्रधानको परिवारले उहाँको स्मृतिमा नेपाल प्रेस युनियन चितवनको नाममा स्थापना गर्न लागेको अक्षयकोष रकम हस्तान्तरण समारोहमा उहाँले दुई तिहाई मतबाट पेलेर संविधान बनाउने उद्देश्य आफ्नो नरहेको स्पष्ट गर्नुभयो । “सबै कुरा सहमतिबाटै टुङ्गिँदै आएको छ,” उहाँले भन्नुभयो, “सहमतिमै माघ ८ गते संविधान जारी हुुन्छ, संविधानसभा बाहिर रहेको नेकपा–माओवादीसहित दललाई समेत समेट्ने प्रयास भइरहेको छ ।” प्रधानमन्त्री कोइरालाले धम्कीको भाषा नबोल्न सबैसँग आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो,“संविधान बनाउने कुरामा प्रचण्डजीहरू सकारात्मक हुनुहुन्छ, संविधान बन्न कसैले नदिए त्यसलाई जनताले छाड्दैनन्, अब संविधान बन्नलाई कसैको ताकतले रोक्न सक्दैन ।” अबको द्वन्द्व मुलुकले थेग्न नसक्ने बताउँदै प्रधानमन्त्री कोइरालाले विगतमा संवैधानिक राजतन्त्र मान्दै गर्दा उनीहरूकै कारण जसरी राजतन्त्र समाप्त भयो त्यसैगरी जनतासँग जोरी खोज्ने आफँै समाप्त भएर जान्छन् भन्नुभयो । एक प्रसङ्गमा उहाँले भन्नुभयो,“जुन दिन संविधान घोषणा हुन्छ त्यसै दिन म राजीनामा दिनेछु, त्यसपछि बाटो खुल्छ, म अहिले आफू स्वस्थ छु, दुइटा क्यान्सरले मलाई खान खोजेको थियो, मैले नै क्यान्सर खाइदिएँ । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले तोकिएको समयमा संविधान निर्माणका लागि प्रेस जगत्बाट दबाब दिनुपर्ने समय आएको बताउनुभयो भने वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले समग्र पत्रकार जगत् संविधानको पक्षमा रहेको र युनियनले संविधान निर्माणका लागि सहयोगी भूमिका खेल्ने बताउनुभयो । सो अवसरमा अक्षयकोषका लागि स्व श्यामकृष्ण प्रधानका कान्छा छोरा सुबोधले रु तीन लाखको चेक प्रधानमन्त्री कोइरालामार्फत युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो । युनियनको यसअघि नै चिजकुमार विष्णुकुमारी स्मृति पत्रकारिता पुरस्कारका लागि रु चार लाख र पत्रकार सहयोगका लागि रु एक लाखको अक्षयकोष छ । हस्तान्तरण गरिएको अक्षयकोष रकमको ब्याजबाट दुःख परेका बेला पत्रकारलाई सहयोग गरिने युनियन चितवनले जनाएको छ । यसअघि प्रधानमन्त्री कोइरालासहित चितवनबाट निर्वाचित सभासद्लाई नेपाली काँग्रेस चितवनले सम्मान गरेको थियो ।